काठमाडौं । यतिबेला नेकपा एमाले अध्यक्ष को बन्ने भनेर चर्चा परिचर्चा भइरहेको छ । यसक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारों महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन तयारी बारे छलफलका लागि विहिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यषको उम्मेदवार बन्ने अध्यक्ष ओलीसहित नेताहरुलाई औपचारिक जानकारी गराएका
छन् ।
दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल ०३२ मा स्थापित कोअर्डिनेशन केन्द्रको संस्थापक सदस्य हुँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटिमा छन् । बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने दाबी गर्दै औपचारिक रुपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न ध्यानाकर्षण सहित आग्रह गरेका थिए ।
बैठकमा ओली र पोखरेलबीच सवाल जवाफ भएको थियो । ‘तपाईको कार्यशैली, अभिव्यक्ति र व्यवहारले पार्टीलाई घाटा भइरहेको छ, अब बिदा लिनु नै राम्रो हुन्छ । अब म पार्टी चलाउँछु, तपाई सहयोग
गर्नुस् । तैपनि बिदा हुनुभएन भने एघारौं महाधिवेशनमा प्रतिस्पर्धा गर्छु ।’ पोखरेलको भनाई उदृत गर्दै एक पदाधिकारीले भने । पोखरेलले एमालेको अध्यक्ष लिने योजना बारे लामै पृष्ठभूमिसहित ओलीको असफलता माथि प्रहारसमेत गरेका थिए ।
जवाफमा ओलीले भने अहिले राष्ट्र र पार्टीको आवश्यकताले गर्दा फेरि पनि अध्यक्ष बन्नुपर्ने अवस्था रहेको भन्दै सर्वसम्मतिको अवस्था नबने स्वस्थ प्रतिस्पर्धालाई भने आफुले अन्यथा ढंगले नलिने बताएका
थिए । यद्यपी उनले पार्टीभित्र अध्यक्षमा प्रतिस्पर्धा हुँदा पराजित भएर पनि पार्टी बनाउन एकताबद्ध बनाएर अघि बढाउन आफुले मात्र योगदान गरेको दृष्टान्त प्रस्तुत गर्दै केही गरी नेतृत्वमा पराजित भएको अवस्थामा माधव नेपाल र भीम रावलले जस्तो पार्टीमै नरहने अवस्था नआओस् भन्दै सजकतापूर्वक स्वस्थ प्रतिस्पर्धामा भाग लिन ध्यानाकर्षण गराएका थिए ।
पोखरेलको भनाईलाई उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि समर्थन जनाएका थिए ।
यसरी एमालेभित्र ओलीमाथि कसरी ईश्वर पोखरेल प्रस्तुत भए त्यसको मूल कारण विद्या भण्डारीको साथ र सहयोग रहेको बताइन्छ । नत्र अहिलेसम्म एमालेमा एकछत्र राज चलाईरहेका ओलीविरुद्ध पोखरेल प्रस्तुत हुने आटै गर्ने थिएनन्
भनिन्छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिएर ठूलो गल्ती भएको र त्यसले पार्टीलाई घाटा पु¥याएको विगतको धारणा दोहोर्याएका थिए । यसले के पुष्टि हुन्छ भने पोखरेललाई विद्या भण्डारीको पुरापुर सहयोग छ, हुनेछ ।
एमालेको यही मंसिर अन्तिम साता हुने महाधिवेशनका लागि संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र माधव ढुंगेल सचिव रहेका प्रतिनिधि व्यवसथापन, उपमहासचिव प्रदिप ज्ञवाली र सचिव राजन भट्टराई रहेको जनपरिचालन, छविलाल विक संयोजक र लालबाबु पण्डित सचिव रहेको आवास समिति बनाइएको छ । त्यस्तै लेखनाथ भट्ट संयोजक र भीष्म अधिकारी खाद्य व्यवस्थापन, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार, पदमा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयम्सेवक समितिलगायत पनि गठन गरिएको छ ।









