काठमाडौं । प्रतिनिधि सभाको पहिलो ठूलो दल नेपाल कांग्रेस भावी १५औं महाधिवेशनलाई लिएर अलमलमै परेका छन् । लामो समयदेखि संस्थापन पक्षी र संस्थापन इतरपक्षीबीच छलफल भए पनि निर्णयमा पुग्न सकेका छैनन् । आ–आफ्नो अडानभन्दा बाहिर गएर टसकामस भएका छैनन् । संस्थापन पक्षको अडान आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि कांग्रेस महाधिवेशन गर्ने छ भने संस्थापन इतर पक्ष निर्वाचन अगावै महाधिवेशन गर्ने अडानमा छ । यो आन्तरिक किचलोले निर्वाचनमा तयारी गर्न समेत बिर्सिएको छ ।
गत असोज २८ गतदेखि छलफलमा जुटेको नेपाली कांग्रेस डेढ महिना बित्न लाग्दा समेत निर्णयमा पुग्नुको सट्टा आन्तरिक संकट गरि¥याउँदै गएको छ । संकट समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवा आफैं सक्रिय भइरहे पनि कसरी संकट समाधान गरी निकास निकाल्ने भन्नेमा आफैं शीर्ष नेताहरुबीच सहमति जुटेको छैन । जसले कांग्रेसभित्र अन्यौलता छाएको छ ।
केन्द्रीय समितिबाट आफ्नो पक्षमा निर्णय गराउन विभिन्न गुट, समूह र उपसमूहहरु संगठित रुपमा लागि परेका छन् । केही दिन अघि पत्रकार सम्मेलन गरेर संस्थापन इतर पक्षले विशेष महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानको दफा १७ को उप दफा २ अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ । यस हिसाबले आगामी पौष २९ गते अगावै कांग्रेसको समस्या विशेष महाधिवेशनले समाधान गर्न सक्ने देखिन्छ ।








