काठमाडौं । नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीभित्र नयाँ नेतृत्व चयनको दौड तीब्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा विधानतः दोहोरिन नसक्ने भएपछि आगामी सभापतिको दौड पार्टीभित्र प्रमुख राजनीतिक केन्द्रबिन्दु बनेको हो ।
देउवा पछि नेतृत्व कसको हुने?
देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी दिएका छन्। नेतृत्व हस्तान्तरणको वातावरण बनिरहेको अवस्थामा देउवाको आशीर्वाद पाउने प्रतिस्पर्धा उनी नजिकका नेताबीच तीब्र भएको छ। तर महाधिवेशन मिति टुंग्याउन पनि देउवाकै पहल कुर्नुपरेको भन्दै कार्यवाहक खड्काको क्षमतामाथि केही नेताहरूले प्रश्न उठाएका छन्।
देउवाका नजिकैका सात पूर्वपदाधिकारी—गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र डा।प्रकाशशरण महत—निरन्तर छलफलमा छन्। सभापतिसँग परामर्श गरेर एक जनामा सहमति जुटाउन बढेको छ।
खड्का, शेखर वा गगन तीनै धार केन्द्रमा
कार्यवाहक सभापति खड्का स्वाभाविक दाबेदार मानिएका छन्। तर उनको संगठनात्मक सक्रियता ‘कमजोर’ भएको भन्ने आवाज पनि छ। प्रवक्ता डा। प्रकाशशरण महत नेतृत्वको विषयमा टिमभित्र औपचारिक छलफल सुरू नभएको बताउँछन् तर खड्काको सम्भावना नकारिँदैन।
दोस्रो धार शेखर कोइराला पक्षको छ। शेखर–गगन टिम १४औँ महाधिवेशनमा एक भएर लडे पनि अहिले दुवै छुट्टै तयारीमा जुटिरहेका छन्। डा.शशांक कोइरालाले आफू वा शेखरमध्ये एकजना सभापतिमा उम्मेदवार हुने संकेत दिएका छन्।
गगन थापाको आक्रामक तयारी, युवा धार सक्रिय
जेनजी आन्दोलनपछि पार्टी रूपान्तरणको विषय उठाउँदै आएका महामन्त्री गगन थापा आगामी सभापतिका मुख्य युवा दावेदार बनेका छन्। उनीनिकट नेताहरू ‘परिवर्तनको माग’ गगनकै नेतृत्वले पूरा गर्नसक्ने दाबी गर्छन्। महामन्त्री थापाले एक टेलिभिजनमार्फ १५ औँ महाधिवेशनको सभापतिको उमेदवार भएको घोषणा समेत गरेका छन् ।
मधु आचार्य भन्छन्—“विशेष महाधिवेशनको हस्ताक्षर अभियान गगनकै पहलले सफल भयो। अबको नेतृत्व पनि परिवर्तनको स्वर उठाउने व्यक्तिलाई दिनुपर्छ।”गगनलाई महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहित युवातहको बलियो समर्थन छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलनले पनि उनको शक्ति देखाएको छ। १४औँ महाधिवेशनमा देउवा प्यानलबाट जितेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले समेत गगनलाई सभापति तथा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्दै चुनावमा जान आग्रह गरिसकेका छन्।
शेखर–गगन सम्बन्धमा बदलिँदै समीकरणः
कांग्रेसमा देउवा नआउँदै गर्दा शेखर र गगनको संयुक्त यात्रामा चिरा पर्न सक्ने देखिन्छ। शेखर पक्षले छुट्टै भेला बस्दै गगनलाई समेटेर अघि बढ्ने प्रयास गरे पनि दुवै पक्ष आआफ्नै तयारीमा व्यस्त देखिन्छन्। शेखर पक्षको आजको भेलामा—जीवन परियार, बद्री पाण्डे, गुरुराज घिमिरे र गोविन्द्र पोखरेलसहित एक दर्जन नेता सहभागी रहे। उनीहरूले शेखरलाई सभापति र गगनलाई सहयात्रामा राखेर अघि बढ्ने सुझाव दिएका छन्।
नेताहरूले समय अभावका कारण तोकिएका मितिमा महाधिवेशन गर्ने चुनौती बढेको बताइरहेका छन्। महत भन्छन्—“पुसभित्रै सकियो भने ठीकै, नभए माघमा महाधिवेशन सम्भव हुँदैन।” महाधिवेशनको घडी नजिकिँदै जाँदा कांग्रेसभित्र तीन प्रमुख धार—खड्का, शेखर–शशांक लाइन र गगन–युवा धार—बीच प्रतिस्पर्धा खुलेर देखिएको छ। देउवाको ‘आशीर्वाद’ र संगठनभित्रको समीकरणले नै अन्ततः कसको नेतृत्व उदाउँछ भन्ने निर्धारण गर्ने देखिन्छ। आगामी हप्ता कांग्रेसभित्र नेतृत्वको खेल झनै रोचक बन्ने सम्भावना प्रबल छ।








