राजनीतिज्ञहरुको हातमा देशको अस्तित्व निर्भर गर्दछ । राजनीतिज्ञ महानुभावहरु हामी देश बनाउँछौ भनेर कम्मर कसेर लागि पर्नुहुन्छ । तर देश कति सप्रिदै छ, कति बिग्रिदै छ भन्ने कुरा देशको विद्यमान परिस्थितिले ज्वलन्त उदाहरण पेश गरिरहेकै छ । देशको अस्तित्व र अस्मिता जोगाउन के के गर्नुपर्दछ भन्ने कुरा राजनीति हाँँक्ने व्यक्तिहरुलाई नै बढी थाहा हुनुपर्ने हो । निरीह जनताहरु राजनीतिज्ञहरुको विश्वास रहेर आआफ्नो दुखेसो, सुखेसो गरेर बाँचेका हुन्छौं । देशमा प्रगति होला, शान्ति छाउला भन्ने धोको नागरिकहरुमा हुन्छ । कतिपय स्वदेशी बन्धु नागरिकहरु काम गर्छु भन्दा काम नपाएर कोदालो खनेर माम खाउन भन्दा पनि जग्गा नपाएर, बिरामी हुँदा पनि निको भएर काम गरी बाँचौभन्दा निको पारीदिने अस्पताल नपाएर, विद्या आर्जन गरी राम्रा राम्रा काम गरौं भन्दा काम सिकाउने विद्यालय जान नपाएर अनि अरु पनि विविध कारणले असहाय भएर बाँचिरहनु परेको छ भने राजनीति गरेर देश बनाउँछौं भनेर कम्मर कस्दै अघि बढ्नुहुने व्यक्तित्व महानुभाव जनताले दिनुपर्ने साथ सहयोग भने जस्तो नपाएर कता कता अप्ठ्यारो अनुभव गर्दै हुनुहुन्छ होला । तर नागरिकहरुले पनि असहायल बन्नु नपर्ने, राजनीतिज्ञज्यूहरुले पनि जनताका साथ सहयोग भने जस्तो पाउने वातावरण बनिदिए कति राम्रो हुने थियो । देशको अवस्था दिनदिनै सप्रिने थियो । हामी नागरिकहरु पनि ढुक्कसँग बाँच्ने थियो । ( आनी बक्ष पियूषी )









