फेरी पनि एमालेमा दोहोरिए ओली

लोकप्रिय मतले गोकर्ण र योगेश विजयी
काठमाडौं । राजनीतिज्ञ केपी शर्मा ओलीले फेरी एकपटक एमाले हाँक्ने मौका पाएका छन् । ओली महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बन्न पुगेका छन् । गत मंसिर २७ देखि पौष ३ गतेसम्म काठमाडौंमा भएको ११औं महाधिवेशनबाट ओलीका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका छन् । यो जितसँगै ओलीको राजनीतिक यात्रा थप सहज भएको देखिन्छ । महाधिवेशनमा ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पराजित ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गरे । ओलीको एकछत्र राज चलेको एमालेमा पोखरेलले यो मत पाउनुलाई यो पनि ठूलो कुरा मानिएको छ । अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा छिर्न समेत दिएनन्, साधारण सदस्य समेत बन्न दिएनन् । महाधिवेशन प्रतिनिधि चयनमा समेत ओलीले एकछत्र राज चलाए । त्यसैले यतिबेला एमाले ओलीमय भएको हो भनिन्छ ।
यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौं महाधिवेशनमा पहिलो पल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा चितवनमा सम्पन्न महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष चुनिएका थिए ।
त्यसो त एमाले भनेकै माधव नेपाल हुन् भन्ने अवस्थामा ओलीले माधव नेपाललाई हराएका मात्र होइनन्, करिब करिब पाखा लगाए । नेपाल र ओली प्रतिस्पर्धा हुँदा चार दर्जन मतले मात्र नेपाललाई ओलीले हराएका हुन् । त्यति बेला माधव नेपाललाई धोक दिएर अन्तिममाओलीलाई साथ दिएका कृष्णगोपालसहितका नेतालाई यस पटक ओलीले आफ्नो प्यानलमा राखेनन् । करिब करिब कृष्ण गोपालले यस पटक ओलीबाट धोका पाएको कृष्ण गोपालले यति बेला अनुभव गरेको हुनुपर्छ ।
एमालेको यस पटकको महाधिवेशनबाट ओली मात्र जितेनन् करिब करिब सिँगै सिट ओलीको प्यानलबाट आए ।
ओलीको यस्तो दबदबा भएको अवस्थामा पनि ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए । यो ठूलो उपलब्धी हो । विष्ट र भट्टराईले लोकप्रिय मत पाएर विजय भएका हुन् ।
उपाध्यक्षमा ओली प्यानलबाट पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा विजयी भए । उपाध्यक्षमा स्वतन्त्र भए पनि रघु पन्त विजयी भए । महासचिवमा कम मत पाए पनि ओली प्यानलका शंकर पोखरेल विजयी भए । यसैगरी उपमहासचिवमा ओली प्यानलका लेखराज भट्ट, रघुवीर महासेठ विजयी भए । यसैगरी सचिव पदमा पुरै ओली प्यानलका विजयी भए । सचिवमा विजयी हुनेहरुमा महेश बस्नेत, पद्मकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल छन् ।
एमालेको महाधिवेशनमा ओली आएपछि पोखरेल पक्षले के गर्छन्, पोखरेल कसरी अघि बढ्छन् सर्वत्र चासोको विषय भएको छ । कतै ईश्वर पोखरेललाई ओलीले भीम रावल बनाउने त होइनन् भन्ने चासो स्वभाविक हो ।
ओलीकै अहमका कारण जेनजीहरु सडकमा उत्रिएको सर्वत्र थाहा भएकै कुरा हो । ओलीकै कारण एमालेप्रति लोकप्रियता घटेको अवस्था छ । निर्वाचनमा जान डराएर एमाले सर्वोच्च अदालतमा पुगेर संसद पुर्नस्थापनाको माग गरिरहेको छ । यदि निर्वाचनमा यही अवस्थामा जाने हो भने एमालेको अवस्था कस्तो रहला सर्वत्र थाहा भएकै कुरा हो । एमालेमा जसरी ओलीलाई प्रतिनिधिहरुले विश्वास गरेका छन्, त्यो विश्वास ओलीले कति पुरा गर्छन् हेर्न बाँकी छ ।

LEAVE A REPLY