काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वले केन्द्रीय कमिटि बैठक बोलाएर पार्टी अनुशासनमा रहन निर्देशन दिएसँगै सोही ठाउँमा आफ्नो पक्षको नेता कार्यकर्ता बोलाएर सम्बोधन गर्दै पोखरेलले भने ‘हामी विभाजन चाहँदैनौ, आत्मसमर्पण पनि गर्दैनौं, नेतृत्वले कमजोरी सुधार्नुपर्छ, यसरी नै अब पनि चल्ने हो भने कम्युनिष्ट आन्दोलन नै संकटमा पर्छ ।’
उनले अध्यक्ष ओलीको अभिव्यक्तिले आफ्नो आङनै सिरिङ्ग भएको टिप्पणी गरे । अध्यक्ष ओलीले म जे बोल्छु त्यही एमाले हो । म भएन भने एमाले हुँदैन भनेको प्रति पोखरेलले असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले भदौ २३ गते पार्टी भित्र घटेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको आरोप पनि लगाए । त्यस्तै ११औं महाधिवेशनको प्रतिस्पर्धा केवल सुरुवात मात्र भएको स्पष्ट पारे । अब यसले निरन्तरता पाउँछ उनले भने । भेलामा पोखरेल पक्षबाट महाधिवेशनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
भेलामा निर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औं महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको बताए । भेला पछि सञ्चारमाध्यमसँग कुरा गर्दै भट्टराईले भने– ‘प्रतिनिधि छनौट, बन्द सत्र देखि निर्वाचनसम्म नै पार्टीका संरचनाहरुको दुरुपयोग गरियो, यस अवधिमा भएका थुप्रै क्रियाकलाप हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यास माथि पनि गम्भीर प्रश्नहरु उठाइएको छ ।’
एमाले नेतृत्वले पार्टी केन्द्रीय कमिटिको पहिलो बैठक बबरमहलस्थित कार्की बैंङ्क्वेटमा बसाएको थियो । त्यही ठाउँमा पोखरेल समुहका नेता, कार्यकर्ताले पनि भेला गरेका थिए ।








