काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच गर्ने भनिएको एकता प्रक्रिया पूरा भएको निकटस्थले बताएका छन् । दुवै पक्षको वार्ता टोलीले सहमतिको खाका तयार पारेको छ ।
उनीहरू दुईबीच यसअघि चरणबद्ध रूपमा काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको म्युजिक कम्पनी र ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको घरमा वार्ता भएको थियो ।
बालेन रास्वपाको झन्डा, निर्वाचन चिह्न स्वीकार गर्न तयार भएको स्रोतले जानकारी दिएको छ । “बालेनलाई भावी प्रधानमन्त्रीको उमेदवारका रूपमा अगाडि बढाएर चुनावमा होमिने हो । त्यस्तै, रास्वपा सभापति रवि नै रहनेछन्,” स्रोतले बतायो।
सहमतिको खाकाअनुसार, बालेनको वरीयता रविको भन्दा एक तहमुनि हुनेछ । बालेनले रास्वपा संगठनको कुनै पनि जिम्मेवारी दाबी नगरेको स्रोतले बताएको छ
“रास्वपा पार्टी, घण्टी चुनाव चिह्न, पार्टी सभापति रवि दाइलाई नै मान्न बालेन तयार छन् । त्यसैले सम्भवतः आजै त्रिपक्षीय हस्ताक्षर हुने सम्भावना छ,” स्रोतले भन्यो ।
त्रिपक्षीय हस्ताक्षरमा सहभागी हुने भनिएका अर्का व्यक्ति ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ हुन् ।
खाका तयार पार्न रविका तर्फबाट डा.स्वर्णिम वाग्ले, शिशिर खनाल र असिम शाहले गृहकार्य गरेका थिए । बालेनका तर्फबाट प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको भूमिका छ ।
रवि, बालेन र घिसिङबीच बिहीबार पुस १० नै त्रिपक्षीय भेट तय भएको थियो । तर, रवि र बालेनका तर्फबाट थप गृहकार्यको आवश्यकता भन्दै भेटवार्ताको समय शुक्रबारलाई सारिएको थियो ।
बालेनले बिहीबार व्यञ्जनकारको घरमा बिहान ७ देखि बेलुका ७ बजेसम्म राजनीतिक भेटवार्ता गरेका थिए । उनले रवि, घिसिङ, डा. बाबुराम भट्टराई, डा. सुनील शर्मा, खगेन्द्र सुनार, अमरेशकुमार सिंह, सागर ढकाललगायत नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
यस्तै, रक्षा बम, सुधन गुरुङ, पुरुषोत्तम यादवलगायत ‘जेनजी’ले बालेनलाई भेटर राजनीतिमा आउन दबाब दिएका थिए ।







