रवि र बालेन मिले, यस्ता छन् रवि र बालेनबिच भएको सहमतिका सात बुँदा

१) नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने ।
२)समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।
३)पहिलो पक्ष र दोस्रो पक्षबिच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घन्टीको आकृति, दलको चुनाव चिह्न घन्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने ।
४)राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
५)बृहत् एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।
६)यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
७)राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घन्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।
किन भयो एकता ? क—कसले खेले भूमिका ?
जेन–जी आन्दोलनपछि संसद् विघटन गर्नुपर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने पहिलो सार्वजनिक प्रस्ताव गर्ने पात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन शाह नै थिए । उनकै प्रस्तावअनुसार संसद् विघटन भएर चुनावी सरकार गठन भयो । तर, एमाले र कांग्रेससँग अन्य विभिन्न शक्ति संसद् पुनस्र्थापनाको लबिइङमा जोड दिएरै लागेपछि बालेन झस्किए । यही विन्दुमा उनले वैकल्पिक शक्तिको मियो रास्वपासँग संवाद थाल्ने निधो गरेका थिए ।
बालेननिकट स्रोतले भन्यो, ‘चुनावको वातावरण बिथोलेर संसद् ब्युँताउने चलखेल भएपछि चुनावी वातावरण बनाउनुपर्छ भनेर बालेन सक्रिय बन्ने निचोडमा पुगेका थिए । यसका लागि राष्ट्रिय राजनीतिमै आउनुपर्छ भन्ने निष्कर्षअनुसार वैकल्पिक शक्तिको मियो रास्वपाबाट संवाद सुरु भयो ।’
बालेनका तर्फबाट कुमार बेन र निश्चल बस्नेत तथा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम शाह र आसिफ शाहले समन्वयकारी भूमिका खेलेका थिए । बालेनले सक्रिय राजनीतिमा आउने सोच बनाएको र मिलेर जानुपर्ने प्रस्ताव कारागारमा रहेका रवि लामिछानेसमक्ष राखियो । दुवै पक्षको अस्तित्वको कुरा उठ्यो । तैपनि दुईजनालाई एकै ठाउँमा ल्याउनुपर्छ, नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने भावना दुवैतिर भएकाले संवाद अगाडि बढेको रास्वपाका एक नेता बताउँछन् ।

‘यो भावनाका साथ अब दुवैबिच वार्ता गराउनुपर्ने आवश्यकता देखियो । कारागारभित्र वार्ता गराउन फोनबाट सम्भव भएन । बालेन पनि कारागार जान सम्भव भएन,’ उनले भने, ‘सभापति रविलाई अदालतले थुनामुक्त गरिदिएको र बालेन पनि बुबाको काजकिरिया सकेर रहेको अवस्थामा दुवैलाई सँगै राख्ने वातावरण बनाइयो । त्यस बसाइमा एक–अर्काको गुण, अवगुण, स्पिरिट बुझ्ने काम भयो । सँगै यात्रा गर्न सकिन्छ भन्ने निचोडमा दुवैजना पुग्नुभयो ।’ उनी पहिलो भेटमै रवि–बालेन सहकार्य टुंगिएको र पछिल्ला दिनको भेट औपचारिकता मात्रै भएको दाबीसमेत गर्छन् । उनका अनुसार रविसँग कुरा मिलेपछि नै बालेनले विभिन्न क्षेत्रका ५० व्यक्तिलाई बोलाएर ‘म सक्रिय राजनीतिमा आउने भएँ, के गरौँ ? भनेर सुझाव मागेका थिए ।

LEAVE A REPLY