काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन्
आज शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले संसद भवनको अवस्था सबैलाई थाहा नै छ । हामी काम चलाउनको लागि अहिले सदन चलाइरहेका छौं । अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्नेछ ।’
यसैगरी उनले पत्रकारहरुको लागि बस्ने ठाउँ असहज भएको भन्दै सहज हुने खालको व्यवस्था मिलाउने समेत बताए । उनले नयाँ संसद भवनमा छिट्टै नै जाने भएकाले पत्रकारहरुलाई सहज हुँदै जाने बताए ।
उनले भने, ‘अहिले गर्नसक्ने केही समयका लागि भिडियो पत्रकारहरुको लागि बस्नका लागि सहज हुने खालको व्यवस्था मिलाउने छौं ।
उनले पत्रकारहरूको पास, कार्ड तथा रिपोर्टिङ पहुँचसम्बन्धी विषयलाई सन्तुलित ढङ्गले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए ।









