काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा बहस भैरहेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ ।
कांग्रेसका तर्फबाट उपसभापति झन्डै १५ जना कानुन व्यवसायीले बहस गर्दै छन् । इजलासले आज दिउँसो साढे ३ बजेसम्म बहस सक्न ‘रूलिङ’ गरेको छ ।
रिट निवेदक रहेका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट जवाफका लागि इजलासले एक घण्टाको समय छुट्याएको छ ।
हिजो रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ ।
उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा १५ औँ महाधिवेशनको कार्यतालिका ल्याइएको र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन् ।








