काठमाडौं । राज्यले हालै पाँचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । हाम्रो साझा अभियानः जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको हो । राष्ट्रले समय सापेक्ष जेष्ठ नागरिकहरुलाई श्रद्धा, माया, सम्मान स्वरुप सेवा सुविधा थप्दै र अरु थप्ने प्रयास गरि रहेको जनाएको छ ।
तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१ पुष मसान्तमा ७५ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति नागरिक रु १०० भन्दा दिन सुरु गर्नुभएको थियो । सोहि दिन पारेर हरेक वर्ष राज्यले जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ । जेष्ठ नागरिकलाई सम्मान र माया स्वरुप जेष्ठ नागरिक भत्तामा वृद्धि गरी प्रति नागरिक रु. ४००० सम्म दिने गरेको छ । यसले न्यून आय भएका र असहाय जेष्ठ नागरिकलाई ठूलो सहयोग पुग्दै आएको छ । अघिल्ला वर्षहरुमा ६८ वर्ष उमेर पुग्नेहरुलाई वृद्ध भत्ता दिने गरिएको भए पनि चालु आर्थिक वर्षदेखि ७० वर्ष उमेर पुग्नेलाई मात्र सो भत्ता दिने गरेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सामाजिक सुरक्षा शाखा प्रमुख विजय कुमारी प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १६ लाख, २४ हजार ३७९ जना जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइसकेका छन् । त्यति जेष्ठ नागरिक हरेकलाई महिानाको ४ हजारका दरले भत्ता दिँदा मासिक कूल रकम ६ अर्ब ४९ करोड ७५ लाख १६ हजार राज्य ढुकुटीबाट खर्च हुने गरेको छ ।
सरकारले वृद्ध भत्ता आवश्यक पर्नेलाई मात्र दिनुपर्नेमा ७० वर्ष पुग्ने सबैलाई दिने गरेको छ । जसले गर्दा पनि यति ठूलो रकम खर्च भइरहेको छ । जो सम्पन्न छ उसले भत्ता नलिने र सरकारले पनि नदिने हो भने भत्ता वापत यति ठूलो रकम खर्च हुने थिएन । त्यसैले सम्पन्न जेष्ठ नागरिकलाई दोसल्लाले मात्र सम्मान र विपन्न जेष्ठ नागरिकलाई भत्ताले सम्मान गरे राम्रो हुने थियो ।









