काठमाडौँ। पर्यटन व्यवसायी तथा राजनीतिक विज्ञ मिङ्मा शेर्पाले नेपालको पर्यटन क्षेत्र दिगो रूपमा पुनरुत्थान गर्न दीर्घकालीन नीति निर्माण, राजनीतिक स्थिरता र स्पष्ट कार्यदिशा अनिवार्य रहेको बताएका छन्।
शेर्पाले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन उद्योग क्रमशः सुधारको चरणमा प्रवेश गरे पनि अपेक्षित गति लिन नसकेको बताएका छन्। उनका अनुसार सरकारी नीतिमा स्पष्टता नहुनु, कार्यान्वयनको कमजोरी र राजनीतिक अस्थिरताका कारण पर्यटन क्षेत्रले पूर्ण लाभ लिन सकेको छैन ।
नेपालमा साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन र प्राकृतिक सौन्दर्यका दृष्टिले अपार सम्भावना भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उनको भनाइ छ। “पर्यटन क्षेत्रलाई दिगो बनाउने हो भने छोटो अवधिको सोच होइन, दीर्घकालीन रणनीतिका साथ अघि बढ्नुपर्छ,” उनले भने।
शेर्पाले विदेशी पर्यटक आकर्षण बढाउन पर्यटन पूर्वाधारको विकास, हवाई तथा सडक सञ्जाल सुधार, अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रचारप्रसार र सेवा गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले पर्यटनमैत्री नीति, कर संरचनामा सुधार र लगानीमैत्री वातावरण निर्माण गर्न सके पर्यटन क्षेत्रले ठूलो रोजगारी सिर्जना गर्न सक्ने बताए। पर्यटन उद्योग मजबुत बनेमा विदेशी मुद्रा आर्जन बढ्ने मात्र होइन, स्थानीय अर्थतन्त्र र ग्रामीण क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
।








