सम्पादकीय
देश बदल्दै सुशासन ल्याउनका लागि आन्दोलनमा उत्रिएका जेनजीहरुका एजेण्डा राम्रा छन् । दलका नेताहरुले समेत तारिफ गरेका छन् तर एकताबद्ध भएर आउन नसक्दा एजेण्डा निष्क्रिय भएर जाने सम्भावना तीव्र भएको छ । आफ्ना एजेण्डा पुरा गर्न जेनजीहरुले एकताबद्ध भई एउटै आवाज उठाउन सक्नु पर्दछ । संगठन खोली विस्तार गर्न सक्नु पर्दछ । जो जुन दलसँग आबद्ध भए वा स्वतन्त्र भए पनि आवाज एउटै हुनुपर्दछ । नेतृत्वदायी हुनुपर्दछ । जेनजीहरुको अहिलेको क्रियाकलाप हेर्दा नेतृत्व नभएको प्रष्टै थाहा हुन्छ । विभिन्न थरिका जेनजी देखिएका छन् । कुरा पनि विभिन्नथरीकै गर्दछन् । यसो गर्दा सरकारले कस्का कुरा सुन्ने, कस्को माग सम्बोधन गर्ने भन्ने कुरामा अलमल देखिएको छ । जेनजीहरु एकआपसमै अलमलमा परेको भान भैरहेको छ ।
जेनजीहरुले साँच्चै मुलुकमा सुशासन ल्याउनै चाहेको, स्वविवेकमा चलेको हुन् भने सबभन्दा पहिले एकताबद्ध हुनुप¥यो । छलफल र सहमतिमा योग्य नेतृत्व चयन गर्नुप¥यो । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो एजेण्डा अनुसार चल्ने जनप्रतिनिधि ल्याउनुपर्यो, जिताउनु पर्यो । जसले जेनजीका भावना अनुसार काम गराउनु पर्यो । पदको लोभ मात्र गर्नु भएन । सबैलाई पद नै चाहिएको हो भने त्यो सबैलाई सम्भव हुँदैन र पदका लोभीले सुशासन ल्याउन पनि सक्दैन । पद र प्रतिष्ठाका लागि विवाद गर्नेमा समय गुज्रिन्छ । जुनकुरा अहिले ठूला तथा पुराना राजनीतिक दलका क्रियाकलापले प्रष्ट पारिसकेको छ ।
मुलुकमा सुशासन ल्याउन संविधानमा भएका कतिपय बुँदाहरुमा परिमार्जन गर्नुपर्ने छ । जुन बुँदामा परिमार्जन नगरी सुशासन लगायतका कुराहरुको कल्पनै गर्न सकिदैन । संविधान संशोधनका लागि जेनजी प्रतिनिधिहरु बहुमतले संसदमा पुगेर मात्र संविधान संशोधन सम्भव छ । नत्र सुशासन टाढै रहने निश्चित छ । आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचनमा पुरानै दलहरुको हावी देखिन्छ । पुराना दललाई बढी संसद सिट र जेनजी प्रतिनिधिलाई थोरै सिट दिने तय भएको देखिदैछ । यदि जेनजीहरुले यसैमा चित्त बुझाउने हो भने पुरानै दलको बर्चश्व रहने र उनीहरुबाट संविधान संशोधन पहिले पनि नभएको र अब पनि नहुने स्पष्टै छ । कतिपय संविधानका बुँदाहरु जनताको भन्दा सरकारमा आबद्ध हुनेहरुकै हितमा भएको हुँदा ती बुँदाहरुमा संशोधन हुन आजसम्म सकेको छैन । त्यसैले जेनजीहरुले बढी सिट माग्ने र त्यसमा विजयी प्राप्त गर्ने काम गर्नुपर्दछ । यी काम नभए संविधान संशोधन नहुने र भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म कसैले नबुझ्ने हुन्छ । शहिद भएका जेनजीहरुको सपना पुरा गर्न जीवित जेनजीले एकताबद्ध भएर आफ्ना एजेण्डा पुरा गर्नेतर्फ लाग्नु आवश्यक छ । होइन भने भाद्र २३ र २४ गते भएको आन्दोलनको कुनै अर्थ रहने छैन ।









