अध्यक्ष ओलीद्वारा जाँचबुझ आयोगलाई लिखित बयान

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे गठित जाँचबुझ आयोगको टोलीलाई एमालेअध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित बयान दिएका छन् ।
ओलीको बयान लिन जाँचबुझ आयोगको टोली आइतबार उनको निवास भक्तपुरस्थित गुण्डुमै पुगेको थियो । टोलीलाई ओलीले लिखित रुपमा जेनजी आन्दोलनका घटना विवरण समेटिएको लिखित बुझाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
आयोगको टोलीले गुण्डु गएर ओलीले पहिल्यै तयार गरेको लिखित बयान उनीहरुलाई दिएर पठाएको बताइएको छ । जाँचबुझ आयोगको टोली पत्रसहित ओली निवासमा पुग्ने र ओलीले त्यही टोलीलाई आफ्नो कुरा राखेर पठाउने पहिल्यै समझदारी बनिसकेको थियो ।

पूर्वसमझदारी अनुसार नै ओलीले जेनजी आन्दोलनमा भएका घटनाबारे लिखित तयार गरेका थिए । आफ्ना भनाइसहित पहिल्यै तयार गरेको त्यही लिखित उनले टोलीलाई दिएका हुन् । यसअघि आफू जाँचबुझ आयोगको कार्यालयमा बयान दिन नजाने बताउँदै आएका ओली आफ्नै निवासमा आए भने आफ्नो कुरा राख्ने र चिया ख्वाएर पठाउने बताएका थिए ।
जाँचबुझ आयोगको टोलीले अन्यलाई भने आयोगको कार्यालय सिंहदरबारमै बोलाएर घण्टौँसम्म बयान लिएको थियो । पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखकलाई पनि आयोगले २ दिन बयान लिएको थियो ।तर ओलीलाई भने आयोगले औपचारिकता माबै पुर्याएको जानकारहरुको भनाई छ ।
यसअघि जाँचबुझ आयोगको चर्काे विरोध गर्दै आएका ओलीले सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए ।

LEAVE A REPLY