काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारको समस्या समाधानका लागि देशभरका पत्रकारलाई सामाजिक सुरुक्षा कोषमा जोड्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खरेलले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए । उनले चितवन शाखा अन्य शाखाभन्दा राम्रो भएको भन्दै यस शाखामा प्रवेश गर्दा आफ्नै घरमा पसे जस्तो अनुभव भएको सुनाए । उनले यो सरकारको काम गर्ने दिन धेरै नभए पनि आधारशिला भने तयार गर्ने बताए । उनले भने ‘लोककल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चार माध्यममा पुर्याउन जरुरी छ ।’
निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराए । मन्त्री खरेलले समाचार संकलनका क्रममा जाँदा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गरी नेपाल टेलिभिजनमा निरन्तर काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफु तयार रहेको बताउँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई फोन गरी टेलिफिजनका तर्फबाट ढकाललाई गर्न सक्ने सहयोगका लागि निर्देशन दिए । समाचार संकलनका क्रममा जाँदा मुग्लिन–नारायणगढ सडक खण्डमा दुर्घटनामा परेका ढकालको अहिले क्रमिक रुपमा स्वास्थ्यमा सुधार भएको अझै पनि उपचारकै क्रममा रहेका छन् । सुदामा साप्ताहिक परिवार ढकालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।









