पुराना दललाई नयाँदलले चुनौती दिँदै

प्रतिनिधि सभा निर्वाचन आउन आजका मितिले ५७ दिन मात्र बाँकी छ । जति जति निर्वाचन मिति नजिकिदै जान्छ त्यति त्यति चुनावी सरगर्मी बढ्दै जान थालेको देखिन्छ । टोलटोलमा चुनावी बहस चलिरहेको छ भने कुन निर्वाचन क्षेत्रबाट कुन दलले कस्ता उम्मेदवार अघि सार्लान भन्ने जिज्ञासा आमनागरिकमा बढ्दै गइरहेको छ । यसै जिज्ञासाका बीच पुराना दलहरुले पुरानै उम्मेदवार अघि सार्ने संकेत देखिदैछ । विगतमा जस्तै पहुँचवाला अथवा नेताकै आसेपासे र आफन्त नै निर्वाचनका प्रत्यासी देखिन थालेका छन् । त्यसै पनि पुरानो दल, त्यसमाथि पनि पुरानै नेता उम्मेदवार हुने भएपछि आम नागरिकमा पुराना दलप्रति आशा मर्न थालेको भान भएको छ । किनकी विगत २०–२२ वर्ष अघिदेखि उनै उम्मेदवार दोहोरिइ रहने र पटक पटक मन्त्री बन्दा र पटक पटक सरकारको नेतृत्व गर्दा समेत जनताका कामहरु प्रत्यक्ष रुपमा देखिने गरी गर्न सकेनन् । काम गर्ने समयमा आन्तरिक कलह गरेर सेवा सुविधा मात्र लिने र राज्यको ढुकुटी रित्याउने काम मात्रै गरे । त्यसैले पुराना दलहरु उपेक्षित बन्न थाली सकेका छन् । विशेषतः पछिल्लो समय देखिएको जेनजी आन्दोलनपछि परम्परागत राजनीतिक अनुहार सँगै नयाँ र वैकल्पिक अनुहारप्रतिको चासो उल्लेख्य रुपमा आम नागरिकमा देखिन थालेको छ । त्यसैले नयाँ र वैकल्पिक अनुहार पुराना दललाई चुनौती देखिनु अस्वभाविक पनि होइन । दल पुरानै भए पनि भावी उम्मेदवार चाहि युवा पुस्ताको हुने व्यवस्था गरेको भए, सर्वसाधारणमा आशाका ओइलाएका मुना ताजा हुने थिए ।
भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले ल्याएको माहोलले पुराना दललाई परास्त गर्दै नयाँ दल र नयाँ अनुहार ल्याउने देखिन्छ र समयमो टड्कारो माग पनि छ । यस्तो माहोल बनेका बेला ५० वर्ष मुनिका पुस्ता अर्थात् नयाँलाई स्थान दिनुपर्नेमा ७५ वर्ष उमेर पार गर्न लागेका नेताहरुले नयाँलाई मार्गदर्शन दिँदै आफुलाई विश्राम लिनुपर्ने समयमा आफैं उम्मेदवार बनेर पुनः सत्ता चलाउने र पहिलेकै जस्तो सरकारी सेवा सुविधामा डुब्न खोज्नु आफैमा असुहाउदिलो र हास्यास्पद देखिन्छ । त्यसैले नयाँ दल र अनुहार पुरानाका लागि चुनौती बनेका हुन् । उदाहरणका लागि काठमाडौं जिल्ला क्षेत्र नं। १ अहिलेदेखि नै चर्चाको क्षेत्र बन्न थालेको छ । त्यहाँ लामोसमयदेखि नेपाली कांग्रेसको गढ मानिदै आएको क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह निरन्तर चार पटकसम्म निर्वाचित हुँदै आउनु भएको छ । र पटक पटक मन्त्रीको जिम्मेवारी समेत लिईसक्नु भएको छ । तर यस पटकको निर्वाचनमा भने विगतमा जस्तो सहज देखिदैन । नयाँ दलहरु सशक्त रुपमा चुनावी मैदानमा उत्रिन थालेसँगै कांग्रेसभित्रैबाट बैकल्पिक उम्मेदवारको चर्चा सुरु भएको छ । यस क्षेत्रमा कांग्रेसले प्रकाशमान सिंह सँगै युवा नेता बाबुराम आचार्यको नाम समेत उम्मेदवारका रुपमा सिफारिस गरेपछि बाहिरी मात्रै होइन आन्तरिक चुनौती थपिएको छ । आचार्यलाई सिंहको विकल्पको रुपमा हेर्न थालिएको छ । आचाय स्वर्गीय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालासँग नजिक रहेर पार्टी राजनीतिमा क्रियाशील रहनुभएको छ । यो त एउटा उदाहरण मात्रै हुन सक्छ । यस्ता क्रियाकलाप अरु अरु पुराना पार्टीमा पनि हुँदै जान सक्छ । त्यसैले पुराना दल र पाका नेताहरुको विकल्प आन्तरिक दलमा युवा नेता पनि हुन सक्छन् ।

LEAVE A REPLY