—भोजकुमारी खड्का
नेपालको जनसंख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । त्यसैका कारण गाउँ सुनसान नै भइसक्यो । एकातिर शिक्षा र स्वास्थ्य नेपालमा ज्यादै महँगो छ । बढाउनु, पढाउनु मुस्किल पर्ने भएकाले पछिल्लो समय हरेक दम्पत्ति सकभर एउटाा, बढीमा २ वटा मात्र सन्तान जन्माउन चाहन्छन् ।
दम्पत्तिको यो चाहनाले भविष्यमा नेपालको जनसंख्या स्वाट्टै घट्ने र विदेशीलाई नेपाल आएर बसिदिन आग्रह गर्नुपर्ने बाध्यतात्मक अवस्था सृजना नहोला भन्न सकिने अवस्था छैन ।
के हो त जनसंख्या घट्नुको कारण जनसंख्या घट्नुको कारण दम्पत्तिमा एक वा दुईभन्दा बढी सन्तान जन्माउने इच्छा नहुनु । युवा बिहे गरेर विदेश पलायन हुन बाध्य हुनु वा लामो समयसम्म दम्पत्ति भेला भएर बस्न अनुकूल नहुन, बल्ल तल्ल जन्माइएका सन्तान पनि कक्षा १२ उत्तीर्ण गरेपछि पढ्ने बहानामा विदेश जाने र नेपालमा कुनै भविष्य नदेखेर उतै पलायन हुने लगायतका कारणले जनसंख्या घट्दै गइरहेको अवस्था छ ।
के छन् त जनसंख्या बढाउने उपायरु
नेपालमा जनसंख्या बढाउने मुख्य उपाय भनेको शिक्षा, स्वास्थ्य उपचार सस्तो र सर्वसुलभ गनृु र रोजगारीको निश्चितता सरकारले गर्दै, विदेश पलायनलाई रोक्नु, विदेश गईसकेकालाई पनि आफ्नै देश फर्काउने पहलकदमी गर्ने हो भने केही वर्षदेखि नै जनस्ंख्या बढ्दै जाने निश्चित रोजगारी सृजना गरेर आय आर्जनको बाटो खुलाउने हो भने दुई जनाको सट्टामा चार जना सन्तान जन्माउन पनि दम्पत्ति पछि पर्दैनन् । थोरै सन्तान जन्माउनु रहर नभएर बाध्यता भएको छ । यो बाध्यतालाई सरकारले हटाउन सक्नु पर्दछ । आजभन्दा करिब ३० वर्ष अगाडिसम्म नेपालमा जनसंख्या बाक्लै थियो । शहर तथा ग्रामीण क्षेत्रका दम्पत्तिले दर्जनसम्म सन्तान उत्पादन गर्दथे । विदेश जाने लहर पनि थिएन । जसका कारण के गाउँ, के शहर सबैतिर जनघनत्व बाक्लै देखिन्थ्यो । जनशक्तिको अभाव खड्किएको थिएन । गाउँबस्ती हराभरा देखिन्थे । तर अहिले गाउँ सुनसान छ । केटाकेटी र बुढाबुढीभन्दा बाहेक ग्रामीण क्षेत्रमा कोही छैनन् ।
जसले गर्दा मर्दा वा पर्दा न त मलामी न त जन्ती पाउने अवस्था छ । पुरुष नभएर महिलाहरु समेतले हलो जोत्न बाध्य भएको अवस्था छ । यो तितो यथार्थ अन्त्य हुनु आवश्यक छ ।









