सम्पादकज्यू
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संसद भवनमा जेनजी सहिदहरुको शालिक राख्ने निर्णय गरेर गलत काम गरेको भान हुन थालेको छ । संसद भवनमा जेनजीहरुको मात्रै होइन, कसैको पनि शालिक राख्नु सुहाउदिलो काम होइन । भविष्यमा जेनजी सहिद जस्ता अरु पनि सहिदको शालिक राख्न दबाब आउन सक्छ । यदि यस्तो भएमा संसद भवन मात्रै नभएर सिंहदरबारभरी नै शालिकै शालिक हुन सक्छन् । भविष्यमा पनि यस्ता सहिद नथपिएलान् भन्न सकिदैन । किनकी देश यस्तै हो, सरकार यस्तै हो । परिपार्टी यस्तै हो ।
जेनजीहरुको शालिक नराख्ने होइन राख्नुपर्दछ तर संसद भवनमा नभएर सार्वजनिक जग्गा तथा शहरबजारका चोकचोका राख्नु पर्दछ । अझ सहिदहरुको जन्मथलो वा स्थायी बसोबासको पहिचान गरी सम्बन्धित चोक चोकमा राख्नु पदृछ । त्यसो गर्दा सहिदहरुको दीर्घकालसम्म याद झल्कि रहन्छ । सिंहदरबार र संसद भवन जस्तो व्यस्त र मस्त ठाउँमा शालिक राख्दा कसैले कसैको मतलब राख्दैन । जो सुकै सर्वसाधारण सहज रुपमा सिंहदरबार छिर्न पाउने अवस्था पनि हुँदैन । बल्ल तल्ल छिर्नेलाई कामको धुन हुन्छ को कस्को शालिक कहाँ छ भनेर खोजी खोजी हेर्ने फुर्सद हुँदैन । सहिदको साँच्चै नै सम्मान र संस्मरण गराउने हो भने काठमाडौंको भृकुटीमण्डप, तीनकुने जस्ता चर्चित ठाउँमा स्थापना गरिन पर्दछ ।
अझ भन्ने हो भने सहिदहरुको सम्मान शालिक स्थापना गरेर मात्र हुँदैन, उनीहरुले देखेको सपना व्यवहारबाट चरितार्थ गरे मात्र पुरा हुन्छ भन्ने कुरा निर्णय कार्यान्वयन गर्ने महानुभावमा अवगत हुन आवश्यक
छ । शालिक राख्ने तर सहिदको सपना अधुरै राख्ने हो भने शालिक स्थापना गर्नु सहिदको सम्मान होइन, अपमान हुन्छ । किनकी राम्रा काम गर्दा म मर्छु र मेरो शालिक राखिदेलान भन्ने कुनै पनि सहिदहरुको चाहना
हुँदैन । सहिदको चाहना भनेको मुलुकमा सुशासन ल्याउने र त्इसमा आफु लगायत आम जनता खुशी र सुखी भएको हेर्ने चाहना, आन्दोलनकारीहरुमा रहेको हुन्छ । त्यसैले म तपाईको पत्रिकामार्फत सरकारलाई सिंहदरबार परिसरमा कसैको पनि शालिक नराख्न आग्रह गर्दै शहिदको सपना साकार पार्ने काम वर्तमान तथा भावी सरकारले गरोस् भन्ने चाहना व्यक्त
गर्दछु ।
गोपाल भण्डारी
भोजपुर ।








