कपोकल्पित र भ्रम पूर्ण सामग्रीले समग्र निर्वाचन प्रकृयामा नकरात्मक असर पार्न सक्छः रेनु दाहाल

चितवन । भरतपुरकी पूर्व महानगर प्रमुख तथा चितवन क्षेत्र नं ३ की उम्मेदवार रेनु दाहालले चुनाव सम्पन्न नभईकनै मत सर्वेक्षणको नाममा नतिजा सार्वजनिक गरिएकोप्रति आपत्ति जनाउदै कपोकल्पित र भ्रमपूर्ण सामग्रीले निर्वाचन प्रकृयामा नकरात्मक असर पार्न सक्ने भन्दै भ्रामक र कपोकल्पित समाचार प्रसारण नगर्न सबैमा आग्रह गरेकी छन् । केही सञ्चारमाध्यममा यस्ता सामग्री प्रसारण भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले असन्तुष्टि व्यक्त पनि गरेकी छन्।
उनले मतदातालाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन आचारसंहिताविपरीत भ्रामक समाचार सार्वजनिक गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।
दाहाल नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट उम्मेदवार रहेकी उनले भनिनः
यतिबेला म चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ।
भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु।
निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।

LEAVE A REPLY