कुमारी बैंकले पायो,अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्तआईएसओको सुरक्षा प्रमाणपत्र

काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त आईएसओ सुरक्षा व्यवस्थापन प्रणाली आईएसएमएस प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको बैंकले बताएको छ ।
आईएसओ तथा आईईसी २७००१ः२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा विशेष गरेर ९३ वटा नियन्त्रणहरू हुन्छन् । यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी यस्तो प्रमाणपत्र प्रदान गरिन्छ ।
यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ । साथै, यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरूको तथ्यांक सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनि प्रमाणित गर्छ ।
डिजिटल बैंकिङ सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा यस बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्डहरू लागु गरेको बैंकले बताएको छ ।

यसैक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले ग्राहकको विश्वास नै बैंकिङ सेवाको आधार भएको बताए । “यो प्रमाणपत्र प्राप्त गर्नु ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब हो । सुरक्षित र विश्वसनीय बैंकिङ वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौँ,” उनले भने ।
बैंकका अनुसार, नियमित जोखिम मूल्यांकन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ ।
बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY