काठमाडौँ । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ । यही उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ । आफ्नो सम्पूर्ण जीवन बीमा क्षेत्रमा समर्पित गर्दै उनि सानिमा रिलायन्सबाट ५ पटक एमडिआरटीको लक्ष्य हासिल गर्दै गर्दा तीन पटक बन्न सफल भए।
हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका गुरुङ सानिमा रिलायन्स इन्स्योरेन्सको बनेपा रिजनबाट बीमा व्यवसाय गर्दै आएका छन् । आज सफल अभिकर्ताको परिचय बनाएका गुरुङको बीमा यात्रा भने सहज थिएन । उनी २०६१ सालमा अन्जानमै बीमा क्षेत्रमा प्रवेश गरेका थिए । तर त्यतिबेला बीमालाई निरन्तरता दिन सकेनन् । जीवनले उनलाई अर्कै मोडमा पुर्यायो झण्डै १० वर्ष बैदेशिक रोजगारका क्रममा गल्फ मुलुकमा विताए।
धादिङबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेका गुरुङ अध्ययनलाई नै छाडेर विदेशिए । लामो समय विदेशमा पसिना बगाएपछि स्वदेश फर्किएर उनले फेरि पढाइलाई निरन्तरता दिए । अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् । जीवनका उतारचढावबीच पढाइ र पेशालाई सँगसँगै अघि बढाइरहेका गुरुङको यात्रा धेरैका लागि प्रेरणादायी छ ।
उनको वास्तविक अभिकर्ता यात्रा भने काठमाडौंका घरबेटीबाट सुरु भएको हो । अभिकर्ता पेशामा सक्रिय घरबेटीको आग्रहमा उनले लाइसेन्स लिए । घरबेटीको शब्द आज पनि उनलाई स्मरणीय छ “तिम्रो कलेज बिहानको रहेछ, पार्ट टाइममा यस्तो गर्न सकिन्छ।”
गुरुङ भन्छन्, “मैले खासै केही बुझ्या त थिइनँ, तर केही हुन्छ भने गरौँ न भन्ने लाग्यो।” यही साधारण सोचले उनको जीवनको दिशा नै बदलिदियो ।
गुरुङको पारिवारिक पृष्ठभूमि पनि रोचक छ । उनका बुवा इन्डियन आर्मीमा कार्यरत थिए । त्यसैले उनको जन्म भारतमा भयो । तर अध्ययन भने उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित बत्सलादेवी माध्यमिक विद्यालयबाट पूरा गरे । घरमा आमा–बुवा, तीन जना दाजुभाइ र दुई बहिनी गरी ठूलो परिवार। हाल भने उनको परिवार भक्तपुरमै बसोबास गरिरहेको छ ।
विदेशबाट फर्किएपछि भूकम्पपछिसम्म दुई–तीन वर्ष खासै केही नगरी समय बित्यो । “के गर्ने, कस्तो गर्ने?” भन्ने द्विविधाकै बीच उनले फेरि बीमाकै कामलाई पूर्णकालिन रूपमा सुरु गरे । साबिक सानिमा लाइफ इन्स्योरेन्सको सुरुवाती दिनदेखि नै उनी यस यात्रामा जोडिए ।
सानिमामा प्रवेश गर्नुको प्रसंग पनि विशेष छ । उनले काम गरिरहेको अघिल्लो कम्पनीको सम्पूर्ण टिम नै सानिमा लाइफमा प्रवेश गर्यो । यसले उनलाई नयाँ कम्पनीमा छिट्टै जम्न मद्दत गर्यो । गुरुङ भन्छन्, “नयाँ कम्पनीमा अलिकति दुःख पनि हुन्छ, सेवा–सुविधाका कुरा पनि हुन्छन्, अवसर र चुनौती दुवै हुन्छन्।” यही सोचका साथ उनले आफूसँगै टिम निर्माणमा पनि कटिबद्ध भएर काम गरे, जसले सानिमामा उनको जग झनै मजबुत बनायो ।
आजसम्म उनले साढे ७ सयभन्दा बढी बीमा पोलिसी जारी गरिसकेका छन् । बीमामा सक्रिय भएदेखि उनले आफूलाई पूर्णकालिन रूपमा यही क्षेत्रमा समर्पित गरे । “बीमा बाहेक अन्य क्षेत्र रोज्ने सोच नै आएन,” उनी स्पष्ट भन्छन्, “मैले अरु केही गर्ने कोसिस नै गरिनँ।”
हाल उनको टिममा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन् । तीमध्ये केही अत्यन्त सक्रिय छन् भने केही निष्क्रिय पनि । तर गुरुङको विश्वास भने स्पष्ट छ ‘सही मार्गदर्शन, अनुशासन र निरन्तरताले बीमा क्षेत्रमा जुनसुकै व्यक्तिले पनि सफलता हासिल गर्न सक्छ ।’
गाउँबाट शहर, विदेशदेखि स्वदेश, संघर्षदेखि सफलतास नारायण बहादुर गुरुङको कथा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली बीमा क्षेत्रमा सम्भावनाको सशक्त उदाहरण हो ।
बीमालाई दैनिक जीवनसँग जोडेर बुझाउने अभियान
नारायण बहादुर गुरुङ बीमालाई केवल वित्तीय उत्पादन होइन, भोलिको सुरक्षित जीवनको आधारका रूपमा प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा परिचित छन्। बीमा क्षेत्रमा लामो अनुभव सँगालेका गुरुङले आफ्ना व्यक्तिगत सम्बन्ध, व्यवहारिक सोच र निरन्तर मेहनतका आधारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।









