फेरी उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीहरु हटाउन सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीहरु आजदेखि फेरि हटाउने भएको छ ।
अघिल्लो शनिबार र आइतबार पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको सरकारले दोस्रो चरणमा उपत्यकाका नदी किनार अतिक्रमण गरेर बनाइएका थप बस्ती हटाउन लागेको हो।
शहरी विकास मन्त्रालयका अनुसार बस्ती भत्काएपछि नदी किनारका बस्तीका नागरिकलाई विवरण संकलन गर्नका लागि दशरथ रंगशाला पुर्‍याइने छ । त्यसका लागि रंगशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिएको छ ।
पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन गर्ने तयारी छ।
होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहने जनाइएको छ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन पनि बसको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिने छ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ।
पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY