काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक अधिकारको संरक्षण र कार्यान्वयनमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदुरहरूले आठ घण्टाको कार्यदिनको माग गर्दै गरेको ऐतिहासिक सङ्घर्षको स्मरण गरेका छन् । प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यो महत्त्वपूर्ण अवसरमा नेपाली कम्युनिस्ट पार्टी श्रमिक वर्ग, विशेष गरी किसान, मजदुर र सुकुम्वासीहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव स्पष्ट र प्रतिबद्ध रहने छ ।’
सन्देशमा उनले भनेका छन्, ‘श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरूको सुनिश्चितताका लागि सरकारलाई आग्रह गर्दछु ।श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बन्नुपर्छ ।’









