मेनोपोजपछि पहिलो ५–७ वर्षमा हड्डीको घनत्व १०–२० प्रतिशतसम्म घट्न सक्छ । यसले ढाड दुख्ने र सामान्य चोटमा हड्डी भाँचिने जोखिम बढाउँछ ।
महिनावारी सुकेपछि महिलाको शरीरमा यस्ता असरहरू देखिन थाल्छन्ः
पेरिमेनोपोजमा इस्ट्रोजेन स्तर घट्छ र महिनावारी अनियमित हुन्छ, जसले विभिन्न शारीरिक र मानसिक लक्षणहरू निम्त्याउछ।
जब अण्डाशयको अण्डा बनाउने क्षमता घट्छ र महिनावारी अनियमित हुन थाल्छ, तब मेनोपोज हुनुअघिको चरणपेरिमेनोपोज सुरु हुन्छ । यस क्रममा इस्ट्रोजेन हर्मोनको स्तर घट्न थाल्छ र विभिन्न लक्षणहरू देखा पर्छन् । यो प्रक्रियामा जातीय र सांस्कृतिक भिन्नताहरू पनि हुन्छन् ।
अमेरिकाको ‘स्टडी अफ वमन्स हेल्थ एक्रोस दी नेशन’को अध्ययनअनुसार, अफ्रिकी—अमेरिकी काला महिलाहरूले गोरा महिलाहरूको तुलनामा उच्च दरमा प्रारम्भिक तथा असामयिक पेरिमेनोपोज अनुभव गर्छन् । उनीहरूमा भासोमोटर लक्षणहरू– शरीर तातो हुने, लामो समयसम्म१० वर्षसम्म शरीर पोल्ने र बढी कष्टदायक रूपमा भोग्ने गरेको पाइएको छ, जबकि गोरा महिलाहरूमा यो औसत ६.५ वर्ष मात्र रहन्छ ।
मेनोपोज हुनुअघि महिनावारीमा अनियमितता आउँछ । धेरैजसो महिलाहरूले यसलाई ‘महिनावारी सुक्न लाग्यो’ भनेर अनुमान गर्छन् । यो नै पेरिमेनोपोज अवस्था हो । सुरुमा महिनावारी चक्र छोटो हुन्छ, त्यसपछि लामो र अनियमित बन्छ ।
रक्तस्रावको मात्रामा पनि फरक पर्छ– थोपा—थोपादेखि अत्यधिक रक्तस्रावसम्म हुन सक्छ । बिस्तारै महिनावारी पूर्ण रूपमा रोकिन्छ । यससँगै वा केही समयपछि भासोमोटर लक्षणहरू सुरु हुन्छन् । शरीर अचानक तातो हुने हट फ्ल्यास, राति चिटचिट पसिना आउने मेनोपोजको मुख्य विशेषता हो । लगभग ७५–८० प्रतिशत महिलाहरूले यो लक्षण अनुभव गर्छन् । यो अचानक गर्मी प्रायः छाती, घाँटी र अनुहारबाट सुरु हुन्छ । अनुहार रातो हुन्छ, पसिना आउनु र कहिलेकाहीं मुटुको धड्कन तीव्र हुन्छ । यो लक्षण सामान्यतया १–३ मिनेटसम्म रहन्छ।
घट्दो इस्ट्रोजेनले सेरोटोनिन र नोरेपिनेफ्रिन जस्ता न्यूरोट्रान्समिटरहरूलाई असर गर्छ । यसले मूड स्विङ, चिडचिडापन, बढी चिन्ता, थकान र निद्रा गडबडी हुने समस्या निम्त्याउछ । राति पसिना आउने र पोल्ने समस्याले यी लक्षणहरूलाई झन् बढाइदिन्छ । केही महिलाहरूले ब्रेन फग केही बिर्सिने, राम्रोसँग सम्झना नआउने, दोधार हुने, एकाग्रतामा कमी र सम्झनामा कठिनाइ हुने समस्या पनि अनुभव गर्छन् । तर समाजले प्रायः भन्छ, ‘अब त यिनको स्वभाव यस्तै भयो ।’ यसले महिलालाई अझ अलग —थलग बनाउँछ र उनी आफैंलाई कमजोर महसुस गर्छिन् ।
महिनावारी सुकेपछि जेनिटोयुरिनरी सिन्ड्रोम अफ मेनोपोज जीएसएम धेरै महिलामा देखिन्छ । योनी पातलो, सुख्खा र कम तन्किने हुन्छ । यसले यौनसम्पर्कमा सुख्खापन, पोल्ने र दुखाइ डिस्पारेुनियाको समस्या निम्त्याउछ । मूत्राशय र मूत्रनलीमा परिवर्तनले बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने र पटक—पटक संक्रमण हुने समस्या बढ्छ ।
कोलाजेन उत्पादन घट्दा छाला पातलो, कम लचकदार र सुख्खा हुन्छ । कपाल पनि कमजोर र झर्ने हुन सक्छ । मांसपेशी तथा जोर्नी दुखाइ पनि सामान्य लक्षण हो ।
मेनोपोजले दीर्घकालीन असरहरू पनि निम्त्याउछ । इस्ट्रोजेनले हड्डीमा क्याल्सियम राख्न मद्दत गर्छ । मेनोपोजपछि पहिलो ५–७ वर्षमा हड्डीको घनत्व १०–२० प्रतिशतसम्म घट्न सक्छ । यसले ढाड दुख्ने र सामान्य चोटमा हड्डी भाँचिने जोखिम बढाउँछ ।
इस्ट्रोजेन अभावले रगतमा बोसोको मात्रा वृद्धि हुने परिवर्तन आउँछ, जसले मुटु रोगको जोखिम बढाउँछ । मेनोपोजपछि तौल बढ्ने, इन्सुलिन प्रतिरोध जस्ता अवस्था बढी देखिन्छन्, जसले मेटाबोलिक समस्या जस्तै मधुमेहको खतरा बढाउँछ । तर यी जोखिमहरू पूर्वरोकथाम गर्न सकिने खालका हुन् ।








