काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान निर्वाचन पक्रिया राष्ट्रिय सहमति नभई निर्वाचन असम्भव हुने बताएका छन् । शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बुधबार भिडियो सन्देश सो कुरा बताएका हुन् ।
सन्देशमा उनले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीको आवश्यकता औँल्याएका छन्। पूर्वराजाले आफ्नो सन्देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।
उनले देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै द्वन्द्व रोक्न र सद्भाव बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्,’ पूर्वराजाले भनेका छन्।
पूर्वराजाले प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक भए पनि वर्तमान अवस्थामा राष्ट्रिय समस्याको समाधान नजिक नभएसम्म निर्वाचनमा जानु उपयुक्त नहुने बताए।
‘प्रजातन्त्रमा राजनीतिक प्रक्रिया संवैधानिक मान्यताअनुसार चल्नुपर्छ। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वभाविक पनि हो’, उनले भनेका छन्, ‘तर अहिले मुलुकमा पहिलो शर्त राष्ट्रिय समस्याको समाधान हो । राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ । फेरि अर्को द्वन्द्व हुन नदिन सबैलाई समझदारीमा ल्याएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने थियो ।’
उनले अधिकार मात्रै खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्ति बढेको बताए र सबैलाई कर्तव्यवोधको आधारमा देशलाई संकटबाट निकाल्न आग्रह गरेका छन्।









