७ फागुन, काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको छ ।
एमालले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाट तत्काल निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको हो ।
एमालेको घोषणा पत्रमा जेनजी उमेर समूहका युवालाई निःशुल्क इन्टरनेट डाटादेखि सुरक्षाकर्मीको सम्मानसम्मका ११ वटा कामहरू मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर काम गरिने उल्लेख छ ।
काठमाडौंको तारे होटल एभरेस्टमा भव्य समारोह आयोजना गरेर सार्वजनिक गरिएको घोषणा पत्रमा जेनजी उमेर समूहका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा दिने प्रतिबद्धता जनाइएको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि आलोचित हुँदै आएको एमालेले जेनजी युवालाई लक्षित गरेर घोषणापत्रमा भनेको छ, ‘१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छौं ।’
एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए मन्त्रिपरिषद् बैठकबाट युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने पनि उल्लेख गरेको छ
‘सूचना प्रविधि क्षेत्रमा आईटीरटेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्द्धन गर्न र स्टार्टअप व्यवसायमार्फत् अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने छौं,’ घोषणा पत्रमा छ ।
उक्त सुविधाबाट स्टार्टअप उद्यममा जोडिन चाहने युवालाई एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाएर १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने एमालेको लक्ष्य छ ।
विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता पनि एमालले गरेको छ । एमालेले तेस्रो काममा वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा पाँच हजार जम्मा गर्ने र सामाजिक सुरक्षामा निरन्तरता दिने विषय समेटेको छ ।
‘वैदेशिक रोजगारीमा गएर देशमा विप्रेषण पठाइरहेका श्रमिकको सम्मान स्वरूप उनीहरूको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ थप गरिदिनेछौं,’ घोषणा पत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्ध गर्नेछौं ।’
एमालेले विद्यार्थीलाई २० लाख निव्र्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था मिलाउने पनि भनेको छ । ‘प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने छौं,’ एमालले भनेको छ, ‘सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको प्रबन्ध गर्नेछौं ।’
एमालेले ‘सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई खाजा’ शीर्षक राखेर घोषणा पत्रमा पाँचौं कामअन्तगर्त समावेश गरेको छ ।
समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र पूर्णपाठः
‘सबै विद्यालयका किशोरीहरूका लागि निःशुल्क प्याड सहजरूपमा उपलब्ध गराउनेछौं,’ एमालेले प्रतिबद्धता जनाउँदै भनेको छ, ‘१० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्नेछौं ।’
एमालेले आगामी सरकार आफूले गठन गर्ने अवसर पाए श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ बनाउने बताएको छ ।
‘श्रमिकहरूको सिप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने छौं,’ एमालले भनेको छ, ‘नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्नेछौं ।’
घोषणा पत्रमा शिक्षकको मर्यादा र सामाजिक सुरक्षालाई प्राथमिकता दिएर काम गर्ने पनि उल्लेख छ । ‘शिक्षकको मर्यादाक्रम तोक्ने छौं । सामुदायिक तथा निजीलगायतका सबै विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्नेछौं,’ घोषणा पत्रमा लेखिएको छ ।
एमालले स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा प्रदान गरिने पनि बताएको छ । यस्तै महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत् २० लाखसम्म उद्यमी महिला निव्र्याजी ऋण सहज ढंगले प्रदान गर्ने तथा व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था गरिने पनि घोषणा पत्रमा उल्लेख छ ।
‘गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने छौं,’ एमालेले भनेको छ, ‘घट्दो जनसंख्या वृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिनेछौं । गर्भवती महिलाका लागि ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गर्नेछौं ।’
यो पनि पढ्नुहोस
जेनजी आन्दोलनमा आगजनी र तोडफोडमा संलग्नलाई एमालेले भन्यो( अराजक तत्व
राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गरिने र त्यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउने एमालेको लक्ष्य छ ।
एमालेले राष्ट्रको सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सम्मान र कल्याण सुनिश्चित गर्ने पनि प्रतिबद्धता जनाएको छ ।
‘पेशागत मर्यादा, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सिप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्दै उनीहरूको हक र हित संरक्षण गर्नेछौं,’ घोषणा पत्रमा छ ।









