खेल जगतमा अन्जुले हासिल गरिन अर्को महत्वपूर्ण उपलव्धि

१७ फागुन, बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल अन्जु ले म्याराथनमा अर्को उपलब्धि हासिल गरेकी छन् ।
विश्वका सात ठूला म्याराथनपछि अन्जुले सात दिनमा नेपालको सातवटा म्याराथन पूरा गरेकी हुन् । अन्जुले नेपालमा फेब्रुअरी १४ देखि २१ सम्म सञ्चालन भएको ७७७ म्याराथन च्यालेन्ज प्रतियोगिता सफलतापूर्वक पूरा गरि यस्तो दौड पूरा गर्ने प्रथम नेपाली महिला बनेकी छन्।
पोखराबाट सुरु भएको उक्त म्याराथन ७ दिन लगातार ७ प्रदेशका सुर्खेत, धनगढी, लुम्बिनी, चितवन, जनकपुर हुंदै धरानमा गएर सम्पन्न भएको थियो ।
आफ्नो सबैभन्दा ठूलो मार्गदर्शक पिता घनश्याम रेग्मीको देहावसानपछि जुठो उम्कने बित्तिकै आयोजित उक्त प्रतियोगितामा सामेल भएर उनले आफ्नो म्याराथनप्रति दृढ इच्छाशक्ति प्रदर्शन गरेकी थिइन् ।
अन्जुले यसअघि एबोट वर्ल्ड च्याम्पियनसिपले आयोजना गर्ने विश्वका ७ ठूला म्याराथन, एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन र यूकेको सबैभन्दा कठिन मानिने वेल्सको स्नोडोनिया १०० किमी ट्रेल रन समेत पूरा गरिसकेकी छन् ।
अन्जु बेलायतको व्यस्त जागिरे र गृहिणी जीवनका वावजुद यस्ता दौड प्रतियोगिताहरुमा नियमित भाग लिने गरेकी छन् । विश्वका ठूला शहरहरु लन्डन, बर्लिन, बोष्टन, न्यूयोर्क, सिकागो, टोकियो, सिड्नीमा आयोजित म्याराथन पूरा गरेकी अन्जुले अर्को दौड आगामी मेमा केपटाउनमा हुने जनाइन् ।
दौडका सिलसिलामा आफूले धेरै नेपाली साथी बनाएको र यी दौडहरुले आफूलाई जीवनको यात्रामा नयां आयाम थपेको उनी बताउंछिन् । दौडकै माध्यमले आफू स्वस्थ्य र फुर्तिलो रहन सकेको बताउने उनी अरु महिलालाई पनि दौडमा सरिक हुन आह्‍वान गर्छिन्।
आफूजस्तै अरु महिलालाई दौडमा सहभागी हुन प्रेरणा जगाउन सके आफ्नो जीवन पूर्ण भएको महसुस हुने उनको धोको छ । आफ्नो उपलब्धिलाई एउटा तीर्थयात्रा मानेर निकै पूण्य कमाउने यात्रा रोजेको उनको भनाइ छ ।
नेपाल रन यूके, लायन्स क्लब अफ नारायणगढ र एनबीसी यूकेकी सक्रिय सदस्य अन्जुले यी परोपकारी संस्थामार्फत विभिन्न परोपकारी कार्यहरुमा सहयोग समेत गर्दै आएकी छन् ।
अन्जुले म्याराथन यात्रा २०१९ को कोभिड महामारीबाट सुरु गरेकी थिइन् । आफ्नो दौड यात्रामा नेपाल रन यूकेका संस्थापक, ट्रेनर एवं समाजसेवी सन्तोष राईको ठूलो सहयोग र प्रेरणा मिलेको उनी बताउँछिन् ।

LEAVE A REPLY