सम्पादकीय
फागुन शुक्ला पूर्णिमालाई होली पर्व वा फागु पूर्णिमा भनिन्छ । नेपालीहरुको खुशी साटासाट गर्ने यो पर्व उपत्यका लगायत पहाडी भेगमा हिजो मनाइयो भने आज तराई क्षेत्रमा भव्य रुपमा मनाइदैछ । खासमा यो पर्व रात्रिका पूर्णिमा भएका दिन उपत्यकामा, पहाडी जिल्लामा मनाइन्छ भने तराईका जिल्लाहरुमा पूर्णिमाको परेवा अर्थात प्रतिवदामा यो पर्व
मनाइन्छ । होलीका दहन भएको खुशीयालीमा खरानी र अवीर दलेर सहपाठी वा सहयात्रीका बीच साथीभाई, इष्टमित्र भेला भई खुशी साटासाट गरी भव्य खुशीयाली गर्दै यो पर्व मनाइदै आएको छ । यो पर्व मनाउन टाढा टाढादेखि पनि आफ्नो गाउँघर, शहरतर्फ आउने र पर्व मनाउने गरिन्छ ।
फागु पर्व वा होली बारे एउटा आख्यान छ, अघि मालिनामका राक्षसकी छोरी ‘दुण्डा’नामकी राक्षसनीले शिवजीको तपस्या गरेर शस्त्र, अस्त्र, जाडो, गर्मी वर्षा आदि केहीबाट पनि प्रभावित नहुने गरी र यस्ता धेरै थरिका पीडाबाट भय–मृत्यु नहुने केवल उन्मत बालकबाट मात्र भय हुने बरदान पाएकी थिई । बालबालिकाको निर्भय क्रिडाबाट र मनोरञ्जनबाट मात्रै यसको विनाश सम्भव हुने भएकाले यसको विनास गर्न बालबालिकाको मनोरञ्जनात्मक क्रिडाहरुको आयोजना गर्नुपर्दछ । यस दिनको राती मध्यरातपछि होलीकाको पूजा गरी होली दाह वा चीर दाह गरेर त्यसको खरानी शिरमा लगाएर पर्व मनाउनु पर्दछ भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
होली बारे अर्को आख्यान पछि छ– होलिका नामकी हिरण्ड्य काशिपुर दानवकी बहिनी थिई । उसले जस्तै अग्निबाट पनि नडढ्ने बरदान पाएकी थिई । विष्णुको द्वेषी हिरण्ड्य काशिपुरले आफ्ना पुत्र विष्णुका परम भक्त प्रह्लादलाई मार्न विभिन्न उपाय गर्दा पनि मार्न नसकेपछि होलीकासँग सल्लाह गरी मार्ने विचार गर्यो । होलिकाले प्रह्लादलाई काखमा लिएर दाउराका रासमा बसेपछि आगो लगाइयो । तर प्रह्लादलाई केही भएन । होलिका भने जलेर नष्ट भई । यसको कारण थियो हालिकाले प्राप्त गरेको बरदानले केही काम नगर्नु र ‘न मे भक्त प्रणश्यति’ भन्ने भगवान नारायणको सत्य बचन शक्तिशाली हुनु ।
होली मनाउनु अघि हे होलिके हामी तिमीसँग डराएर तिम्रो पूजा गर्छौं । इन्द्र, ब्रह्मा र शंकरले पनि तिमीसँग डराएर नमस्कार गर्दै तिमी हाम्रो कल्याण गर भन्दै प्रार्थना गरी अग्निको तीन पटक प्रदक्षिणा गरेर रमाइलो गर्न थालिन्छ । होलिका दहन भएको खुशीयालीमा भगवान कृष्णले पनि वृन्दावनमा राधा एवम् गोपिनीहरुका साथ होली खेल्नु भएको र परम्परालाई कायम राख्नु भएको प्रशंग गर्ग संहितामा उल्लेख गरिएको छ । जे होस् होली फागुन पञ्चमी देखि पूर्णिमासम्म खेल्ने गरिन्छ । र पूर्णिमाका दिन चीर दाह गर्ने शास्त्रीय विधानमै छ ।
त्यसैले होली खेल्दा कसैको इच्छा विपरीत खेल्नु हुँदैन । होलिका नाममा विकृति भित्र्याएर कसैको स्वास्थ्यमा हानी नोक्सानी पुर्याउन हुँदैन । विपरीत लिंगीसँग इच्छाविपरीत होलि खेल्न हुँदैन । यसो गर्दा शास्त्रीय विधान अनुसार रहे चलेको सावित हुन्छ । यो पर्व परापूर्वकालदेखि हालसम्म कायम रहेको र यो परम्परा जीवन्तसम्म नै चलिरहने विश्वास गरिन्छ ।








