—भोजकुमारी खड्का
तराईमा औलो उन्मुलन भएसँगै तराईका चारकोसे झाडी फाँडेर बस्ती बसाइएको छ । जंगल फँडानी गरेर बस्ती बसाउँदा एकातिर गाउँ रित्तिएको छ भने अर्कातिर तराई मरुभूमि तुल्य हुन लागेको छ । तराईमा र शहरमा बसाईसर्ने प्रवृत्तिले गाउँरित्तिएका छन् भने खेतीयोग्य जमिन र पशुपालन योग्य घाँसे बस्तीहरु सबै बाँझिएका छन् ।
पहाडमा बाटो पुग्यो, सडक पिच पनि भयो, विजुली पनि पुग्यो तर सडकमा गाडी गुडाउने र विजुली बत्ति उपभोग गर्ने मान्छे नै छैनन । शहरहरु दिनप्रतिदिन निसास्सिदै जाने र गाउँबस्ती उजाड हुँदै जाने क्रम बढ्दा यसलाई रोक्ने उपाय कुनै दलहरुले सोच्न सकेनन् । ठूलाठूला नारा दिने र काम भने सानो पनि नगर्ने दलहरुको प्रवृत्तिले गाउँ रित्तिने र बचे खुचेका बासिन्दाले नयाँ जनप्रतिनिधिको पर्खाइमा आफुहरु रहेको बताइरहेका छन् । तर दलका कुनै पनि जनप्रतिनिधिका उम्मेदवारहरुले घरदैलो गर्ने क्रममा बाँझिएका उर्वर खेतवारी हराभरा पार्ने र सहर पस्ने र विदेश जाने नागरिकहरुलाइृ गाउँमै फर्काएर बस्ती बाक्लो पार्ने एजेण्डा नै ल्याउन सकेनन् । त्यसैले यो निर्वाचनपछि पनि गाउँबस्ती रित्तोनै रहने देखिएको छ । अनि कहिले हुन्छ गाउँको विकास रु त्यसैले गाउँ क्षेत्रबाट निर्वाचन जित्ने प्रतिनिधिहरु यो पटकदेखि नै गाउँमा गएर आफ्नो निर्वाचन क्षेत्रलाई विकास गर्दै जान आवश्यक छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले केही वर्ष अघि गरेको अध्ययन प्रतिवेदनले नेपालको भौगोलिक जनसंख्यामा ठूलो खाडल देखाएको छ । यसैलाइृ समयमै नियन्त्रण गर्न वा व्यवस्थित बनाउन आवश्यक छ । यसो नगर्ने हो भने अबका केही दशकहरुमै नेपालको भौगोलिक जनंख्या वितरण प्रणाली नै हराउने अवस्था छ । आजभन्दा करिब ८२ वर्ष अघि नेपालको जनसंख्या ८० लाखको हाराहारीमा थियो । तर ८२ वर्षको अन्तरालमा नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । त्यो पनि सबै शहर र तराईतर्फ बसाईसरिरहेको अवस्था छ । यो अवस्थाको निराकरण गर्न अब जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नु आवश्यक छ ।
गाउँबस्ती हराभरा पार्न अब के गर्ने त ?
गाउँबस्ती हराभरा पार्ने उपायहरु धेरै भए पनि तत्कालका लागि निम्न उपाय लगाउन सकिन्छः
क) विदेश पलायन रोकी गाउँमै आवश्यक पूर्वाधार तयार पार्ने ।
ख) बसाईसराई रोक्ने र पछिल्लो समय बसाई सर्नेहरुलाई यथास्थानमै फर्काउने ।
ग) जंली जनावरबाट भए÷गरेका कृषिजन्य वस्तुको क्षति रोक्ने । उत्पादित बाली जंगली जनावर बाँदर, दुम्सी, हात्ती लगायतबाट क्षति हुने गरेका कारण बसाईसर्न बाध्य बनाएको छ । दुर्गम जिल्ला, सिन्धुपाल्चोक, भोजपुर, स्याङ्जा, गुल्मीलगायतमा बाँदरले बालीनालीमा क्षतिपुर्याएका कारण धेरै जस्तो मानिसहरु बसाईसर्न बाध्य छन् ।
घ) जनसंख्या वृद्धिः शिक्षा र स्वास्थ्य महँगो भएका कारण धेरै जसो दम्पत्तिले १ वा २ वटाभन्दा बढी सन्तान जन्माउन चाहँदैनन् । जसले गर्दा जनसंख्या स्वाट्टै घटेको छ । त्यसमाथि पनि नवविवाहित दम्पत्तिमध्ये पति विहे गरेलगत्तै विदेश जाने र ३÷४ वर्षपछि स्वदेश फर्किने बाध्यताले पनि सन्तान उत्पादन ढिलो हुने र घट्दै जाने अवस्था छ । यसका लागि स्वदेशमै रोजगारीको सृजना गरी सीप र क्षमता अनुसारको काम–दाम दिन सक्ने हैसियत बनाउन जरुरी छ । जसले गर्दा विदेश जानु नपर्ने अवस्था आउन सक्छ ।
ङ)विदेशमा अध्ययन गर्न जानमा रोकः जनंख्या बृद्धिका लागि विद्यार्थीलाई विभिन्न देशमा पढ्न जानमा रोक लगाउने वा निश्चित वा तोकिएको अवधिपछि नेपालमै रोजगारी दिने व्यवस्था गर्न सक्नु पर्दछ ।
अहिले हरेक वर्ष १०औं हजार विद्यार्थी नेपालमा उज्ज्वल भविष्य नदेखेर उच्च शिक्षाको बहानामा विदेश पढ्न जाने र उतै पलायन हुने प्रवृत्ति बढीरहेको छ । यो प्रवृत्तिले जनसंख्या घट्नु मात्रै होइन, ३०औं लाख रुपैयाँ प्रति विद्यार्थी सँगै बाहिरिइरहेको छ । यसले देश पनि रित्तो हुँदै र पुँजी पनि विदेशीईरहेको अवस्था छ । यसलाई पूर्ण रुपमा रोक्नुपर्ने अवस्था छ । यस कामका लागि सम्बन्धित ठाउँका जनप्रतिनिधिले योजना बनाई यसको निराकरण गर्न अति जरुरी छ ।
म त नपाउञ्जेल ठूला सपना देखाएर भोट माग्ने र जिते पछि गाउँ नै नफर्किने प्रवृत्ति नेताहरुले तोड्नु पर्छ । तत्पश्चात मात्रै गाउँबस्ती बस्न लायक हुनेछ ।






