काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका ती नेपालीहरूको उद्धार गरिएको हो। बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको सहजीकरणमा बिहीबार नेपाल फर्काइएको हो।
राजदूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई पनि नेपाल फर्काउने पहल भइरहेको छ।
कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा भिसा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको राजदूतावासले जनाएको छ।
राजदूतावासले कम्बोडियामा समस्यामा परेका नेपालीलाई नेपाल फर्किन सहजीकरणका लागि बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ।
त्यस्तै, स्क्यामिङ केन्द्रमा काम लगाइएकाहरूको राहदानी कम्पनीले राख्ने वा स्थानान्तरणका क्रममा हराएको समस्या देखिएकाले त्यस्ता अवस्थामा नेपाल फर्किनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराइने पनि राजदूतावासले जनाएको छ।
राजदूतावासले सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता मुलुकमा भ्रमणको बहानामा काम गर्न नजान आग्रह गरेको छ।








