काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम यही चैत १२ गते गर्ने तयारी गरिएको छ।
समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरेको छ। सोही दिन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि गरेको छ। यसबारे जानकारी संघीय संसद् सचिवालयलाई पनि गराइनेछ । निर्वाचन आयोगबाट औपचारिक जानकारी प्राप्त भएपछि शपथको मिति सार्वजनिक गरिने संसद् सचिवालयले जनाएको छ। सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार यस विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल जारी छ।
उनले भने, “निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्ट नै शपथ सम्बन्धी सूचना सार्वजनिक गर्ने तयारी छ।” उनका अनुसार चैत १२ गते शपथ गराउने तयारी अन्तिम चरणमा पुगेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दल राष्ट्रिय दलका रूपमा उदाएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। त्यसपछि नेपाली कांग्रेस ३८ सिट, नेकपा एमाले ३५ सिट, नेकपा १७ सिट, श्रम संस्कृति पार्टी ७ सिट र राप्रपा ५ सिटसहित संसद्मा प्रतिनिधित्व गरेका छन्। साथै एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।







