सरकारको नीति तथा कार्यक्रमममा केन्द्रीत रहेर आव को बजेट तयार गरिन्छःअर्थमन्त्री

काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनु भएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उहाँले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्नुभयो । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताउनुभयो ।
अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब रु १३ खर्ब ३० अर्ब रहेको, करिब रु सात खर्ब अपुग हुने तथ्य पेस गर्नुभयो । उहाँले सिर्जनशील कार्यक्रमका लागि आफूले स्रोत जुटाउने विश्वास दिलाउँदै चुनौतीलाई अवसरका रूपमा बदल्ने बताउनुभयो ।
अर्थ मन्त्रालयले यसअघि नै मन्त्रालयहरूलाई बजेटको ‘सिलिङ’ तोकेर पठाइसकेको जानकारी दिँदै उहाँले त्यस आधारमा नै सम्बन्धित मन्त्रालयमार्फत समावेश गर्न सकिने विषय भए मन्त्रालयले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्रीले नियमित स्रोतबाट मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकिने भएकाले सरकारले ‘वैकल्पिक वित्तसम्बन्धी विधेयक’ तत्काल अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँले सो विधेयकलाई थप समृद्ध बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
पाँचवटा ‘थिम’मा आगामी बजेट
अर्थमन्त्री वाग्लेले पाँच वटा ‘थिम’मा आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि अगाडि बढाइएको सुशासनको लाभांश वितरण गर्ने तरिकाले बजेट विनियोजन गर्ने विश्वास दिलाउनुभयो ।
यस्तै, उहाँले अर्थतन्त्रको पुनः संरचना गर्नेगरी बजेट आउने उल्लेख गर्नुभयो । त्यस्तै, सम्पर्क सञ्जालको विस्तार एवम् सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, खानेपानी सडकजस्ता ‘डिजिटल’ नेटवर्कका लागि ठूलो लगानी गरिने जानकारी गराउनुभयो ।
अर्थमन्त्रीले निजी क्षेत्रलाई पनि सडक पूर्वाधार निर्माणमा सहभागी गराउने योजना सरकारको रहेको उल्लेख गर्नुभयो । नेपालको सौम्य शक्तिको विस्तारमार्फत संस्कृति, पर्यटन र परराष्ट्र सम्बन्धको थप प्रवर्द्धन गर्ने, डायोस्परालाई आर्थिक विकासमा सहभागी गराउने गरी उक्त स्रोतको परिचालन गर्ने उहाँको कथन छ ।
सीमित समूहले पुँजी बजारमा अर्बौं दुरुपयोग गरेःअर्थमन्त्री
गोरखापत्र अनलाइन २९ वैशाख २०८३, मङ्गलबार
सीमित समूहले पुँजी बजारमा अर्बौं दुरुपयोग गरे स् अर्थमन्त्री
उहाँले आगामी आवको बजेटमा सरकारको नीति तथा कार्यक्रम, शासकीय सुधार र सरकारको वाचापत्रलाई समेटिने दोहोर्‍याउनुभयो । बजेटका प्राथमिकता तथा सिद्धान्तमार्फत सुधारमुखी ‘एजेन्डा’ अघि सारिने अर्थमन्त्रीको भनाइ छ ।
त्यस्तै, विप्रेषणमा आधारित अर्थतन्त्रलाई क्रमशः उत्पादनमा आधारित बनाउने र सामाजिक उन्नयन तथा मध्यम वर्गको विस्तारमा जोड दिइने उहाँले बताउनुभयो । उहाँले आफूले अर्थमन्त्रालय सम्हालेदेखि साना–ठूला गरी ३०० भन्दा बढी काम भइसकेको समितिलाई जानकारी दिनुभयो । उहाँले यही वैशाख ३१ गते संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने जानकारी गराउनुभयो । सांसदहरूले संसद्मा दिनुहुने सुझावलाई समेत बजेटमा समावेश गरिने उल्लेख गर्नुभयो ।
सीमा क्षेत्रमा हुने तस्करी निर्मम भएर नियन्त्रण गरिने अर्थमन्त्री डा वाग्लेको भनाइ छ । सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा भने कडा रूपमा प्रस्तुत हुने उहाँले स्पष्ट पार्नुभयो ।
एक सय रुपियाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको र चालु आवको बजेटमा सो व्यवस्था रहेको जानकारी दिनुभयो ।
एकै दिनमा पटक–पटक सीमा वारपार गरेर नेपाली बजार र गोदाममा सामान भित्र्याई स्वदेशी उत्पादनलाई क्षति गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।
सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउन सरकारले सीमा क्षेत्रमा क्यामेरा, अनुहार पहिचान गर्ने यन्त्र, नाइट भिजन उपकरण र कृत्रिम बुद्धिमत्ता ९एआई० मा आधारित निगरानी प्रणाली प्रयोग गर्ने योजना अघि सारिएको उहाँको कथन छ ।
‘धितोपत्रप्रति उदार नीति’
अर्थमन्त्री डा वाग्लेले धितोपत्र बजारको विकासका लागि सरकारले उदार नीति अगाडि सारेको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिले सोमबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको उल्लेख गर्नुभयो । उहाँले त्यसलाई बजेटमा थप आकार दिइने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल गरेर ‘इन्साइडर ट्रेडिङ’ गरी जनताको ठूलो रकम दुरूपयोग गरिएको यथार्थता पेस गर्नुभयो । उहाँले त्यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको दाबी गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठन गरिएको एउटा समितिले प्रतिवेदन दिएको जानकारी दिँदै त्यसलाई क्रमशः कार्यान्वयनमा लगिने बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको र हाल सुशासनलाई ठूलो प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गर्नुभयो ।
सांसदहरू ध्रुव्र राई, परशुराम तामाङ, भरत गिरीलगायतले आगामी आर्थिक वर्षको बजेटका बारेमा सुझाव दिनुभएको थियो ।

LEAVE A REPLY