काठमाडौँ । आज चैत्र शुल्क नवमी, श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी “रामनवमी पर्व” देशभर मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो ।
कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए ।
रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नु रहेको धर्मशास्त्रविद्हरु बताउछन् ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।
यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुसुप्त दसैँ भनिन्छ ।
त्यसैगरी, व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बास प्राप्त हुने उल्लेख छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।









