डाटा सेन्टर वरपर पृथ्वीको तापक्रम १६ डिग्री फरेनहाइटसम्म ,बढ्दा ३४ करोड मानिस प्रवावित हुने

चैत२०, एआई डाटा सेन्टरहरूले ठूलो ऊर्जा खपत गर्दै स्थानीय वातावरणमा गम्भीर संकट निम्त्याइरहेको चेतावनी दिइएको छ।
युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धानकर्ताहरूले डाटा सेन्टरहरूले स्थानीय तापक्रम १६ डिग्री फरेनहाइटसम्म बढाएको देखाएका छन्।
डाटा सेन्टरको तातो प्रभाव ६.२ माइल टाढासम्म फैलिएको र ३४ करोड मानिस प्रभावित भएको अध्ययनले जनाएको छ।
युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धानकर्ताहरूका अनुसार, यी केन्द्रहरूले यति धेरै तातो हावा उत्सर्जन गरिरहेका छन् कि तिनको वरपरका क्षेत्रमा जमिनको सतहको तापक्रम १६ डिग्री फरेनहाइट करिब ९ डिग्री सेल्सियस सम्मले बढेको छ।
अध्ययनले यस प्रक्रियालाई ‘हिट आइल्याण्ड’ को संज्ञा दिएको छ, जहाँ डाटा सेन्टरका मेसिनहरू चिस्याउन प्रयोग गरिने प्रणालीले बाहिर फाल्ने तातोले माइलौँ टाढासम्मको वातावरणलाई तताइरहेको छ। यो शोधले विशेष गरी ‘हाइपरस्केलर्स’ भनिने विशाल डाटा सेन्टरहरूमा केन्द्रित रहेर विश्लेषण गरेको हो।
३४ करोड मानिस प्रत्यक्ष जोखिममाः
अनुसन्धानकर्ताहरूले विगत २० वर्षको स्याटेलाइट डाटा र विश्वभरका करिब ८ हजार ४ सय डाटा सेन्टरहरूको अवस्थितिलाई तुलना गरेर यो निष्कर्ष निकालेका हुन्।
अध्ययनका मुख्य शोधकर्ता एन्ड्रिया मारिनोनीका अनुसार डाटा सेन्टर सञ्चालनमा आएपछि त्यस क्षेत्रको औसत तापक्रम ३.६ डिग्री फरेनहाइटले बढेको पाइयो। सबैभन्दा खराब अवस्थामा यो वृद्धि १६ डिग्री फरेनहाइटसम्मको उच्च विन्दुमा पुगेको छ ।
यसको तातो प्रभाव डाटा सेन्टर रहेको स्थानबाट ६.२ माइल टाढासम्म महसुस गरिएको छ। यो वातावरणीय परिवर्तनबाट विश्वभरका करिब ३४ करोड मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
मेक्सिकोको बाहियो र स्पेनको एरागोन जस्ता नयाँ डाटा सेन्टर हबहरूमा पनि तापक्रम वृद्धिको यही ढाँचा देखिएको प्रतिवेदनमा उल्लेख छ।
विशाल ऊर्जा खपत र वातावरणीय चुनौती
एआई को बढ्दो माग पूरा गर्न निर्माण गरिएका यी केन्द्रहरूले सहरै धान्न सक्ने बराबरको बिजुली खपत गर्दछन्। उदाहरणका लागि, मेटाको नयाँ ‘हाइपरियन’ डाटा सेन्टर बनाउन मात्रै २७ अर्ब डलर खर्च भएको छ र यसलाई चलाउन १० वटा ग्यास पावर प्लान्टको ऊर्जा आवश्यक पर्ने अनुमान गरिएको छ।
यद्यपि, केही विज्ञहरूले यो तापक्रम वृद्धि केवल मेसिनको गर्मीले मात्र नभई भवनको संरचनामा सूर्यको प्रकाश पर्दा उत्पन्न हुने ‘अर्बन हिट आइल्याण्ड’ प्रभावका कारण पनि हुन सक्ने भन्दै थप अनुसन्धानको आवश्यकता औंल्याएका छन्। युनिभर्सिटी अफ ब्रिस्टलका क्रिस्टोफर प्राइस्टका अनुसार, भवनले सोस्ने घामको तातो र भित्रका मेसिनले फाल्ने तातोको अनुपात छुट्ट्याउनु जरुरी छ।
हरित प्रविधिको खोजी अनिवार्य छ ।

LEAVE A REPLY