काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ । डुई साताका लागि युद्धविराम गर्न सहमत भएका अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुन लागेको छ। इरानी टोली इस्लामाबाद पुगिसकेको छ भने अमेरिकाले उपराष्ट्रपति जेडी भान्सलाई वार्तामा सहभागी हुन पठाएको छ।
भान्सले इरानले ,सद्भावनापूर्वकू व्यवहार नदेखाए तथा झुक्याउन खोजे अमेरिकालाई त्यो स्वीकार्य नहुने बताएका छन् भने इरानी अधिकारीहरूले वार्तासुरु हुनुअघि लेबननमा पनि युद्धविराम हुनुपर्ने माग राखेका छन्।
इजरेलले बुधवार लेबननमा सबैभन्दा भीषण हमला गर्दा ३०० जनाभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ। इरानी अधिकारीहरूले लेबननमाथि भएको हमलाको निन्दा गर्दै इजरेलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। तर इजरेल र अमेरिकाले युद्धविरामको सहमतिमा लेबनन नपर्ने दाबी गर्दै आएका छन्।
युद्धविराम अवधिमा इरानले होर्मुज जलमार्गमा पानीजहाजहरूको आवतजावतमा अवरोध नगर्ने सर्त स्वीकार गरेको बताइएको छ । अमेरिका र इजरेलले मिलेर इरानमा आक्रमण गर्न थालेको ४० दिनपछि युद्धविराम घोषणा भएको हो। त्यसको केही घण्टाअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान होर्मुज जलमार्ग खोल्न तयार नभए एउटा पूरै सभ्यता नष्ट हुने छ भनेर कडा चेतावनी दिएका थिए। स्ट्रेट अफ होर्मुज खाडी क्षेत्रबाट तेल र अन्य सामग्री निर्यात गर्न प्रयोग हुने निकै महत्त्वपूर्ण जलमार्ग हो।
ट्रम्पले ट्रूथ सोशलुमा एउटा पोस्टमा आफू युद्धविरामका लागि सहमत हुनुको कारण उल्लेख गरेका छन्। हामी इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिको विषयमा एउटा निर्णायक सहमतिमा पुग्न अघि बढिसकेका छौँ।
इरान र अमेरिकाबीच विगतका विवादका विभिन्न कुरामध्ये लगभग सबैजसोमा सहमति भइसकेको छ। तर दुई साताको अवधिले सम्झौतालाई अन्तिम स्वरूप दिन र कार्यान्वयन गर्ने अवसर दिने छ, उनले लेखेका छन्।








