काठमाडौँ, जेठ २४गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाले स्वास्थ्य बिमामा सुधार ल्याउन ऐन नै संशोधन गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आइतबार आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक रहेको औँल्याउनुभएको हो ।
सचिव देवकोटाले बिमा क्षेत्रमा देखिएका गुनासालाई सरकारले तत्काल सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै उहाँले विगतका वर्षका तुलनामा यस पटक दोब्बर बजेट विनियोजन गरिएकाले स्वास्थ्य बिमामा ठुलो सुधार हुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “बिमा सुधारका सन्दर्भमा मिडियामा आएका विषय र पछिल्ला निर्णयका आधारमा हामीले तत्काल कदम चाल्नुपर्ने देखिएको छ । यसका लागि साउन १ गतेदेखि नै कार्यान्वयनमा जाने गरी मन्त्रिपरिषद् मार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने सोचमा छौँ ।”
उहाँले अघिल्ला वर्षमा स्वास्थ्य बिमाका लागि साढे सात अर्ब रुपियाँ बजेट हुने गरेकोमा आगामी आर्थिक वर्षका लागि १५ अर्ब रुपियाँ विनियोजन गरिनुले पनि सरकारको प्राथमिकता प्रस्ट पारेको उल्लेख गर्नुभयो ।
सचिव देवकोटाले आगामी तीन वर्षभित्र आधारभूत स्वास्थ्य सेवा आमनागरिकसम्म पुर्याउने गरी मन्त्रालयले कार्ययोजना बनाइरहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।








