काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा पठाउने विराटनगरका अभिषेक कालाखेतीले बीवाइडी अटो १ ईभी कार जितेका छन्।
काठमाडौंमा आज बुधबार आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे।
कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पठाइने रेमिटेन्सले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै हजारौँ नेपाली परिवारको जीवनमा खुसी र समृद्धि ल्याएको बताए। उनले आइएमई र टिक्मोले सञ्चालन गरेका यस्ता योजनाले सेवा प्रवाहसँगै विदेशमा श्रम गरिरहेका नेपालीका सपना साकार पार्न पनि योगदान पुर्याइरहेको उल्लेख गरे।
त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्वका विभिन्न मुलुकमा कार्यरत नेपालीको विश्वास जित्दै आइएमईले सुरक्षित, छिटो र भरपर्दो रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको बताए। उनले विदेशमा रहेका नेपालीले आफ्नो परिवारसम्म सहज रूपमा रकम पठाउन आइएमईले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।
आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन भएको थियो। यो योजनामार्फत साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित, छिटो र औपचारिक डिजिटल रेमिटेन्स सेवातर्फ आकर्षित गर्ने उद्देश्य राखिएको थियो।
यस अभियानअन्तर्गत पहिलो चरणमा १२ जना सेवाग्राहीले आइफोन १७ र दुई जनाले इलेक्ट्रिक स्कुटर जितेका थिए। दोस्रो चरणमा हरेक हप्ता पाँच जना विजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए। अभियानको बम्पर उपहारअन्तर्गत अभिषेक कालाखेती बीवाइडी अटो १ ईभी कारका भाग्यशाली विजेता बनेका छन् ।
यसैबीच, आइएमई र टिक्मोले नयाँ संयुक्त योजना पनि सार्वजनिक गरेका छन्। आगामी साउन १७ देखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता दुई जना विजेताले आफूले पठाएको रकमको दुई गुणासम्म पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, हरेक महिना दुई जना विजेताले आफूले पठाएको रकमको तीन गुणासम्म पुरस्कार जित्ने अवसर पाउनेछन् भने बम्पर योजनाअन्तर्गत दुई जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको पाँच गुणासम्म पुरस्कार प्राप्त गर्ने आइएमईले जनाएको छ।
कम्पनीका अनुसार नयाँ अभियानले साउदी अरेबियामा रहेका नेपालीलाई औपचारिक तथा डिजिटल रेमिटेन्स माध्यम प्रयोग गर्न थप प्रोत्साहित गर्नुका साथै आइएमई र टिक्मोबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास कम्पनिद्वारा गरिएको छ।









