गुल्मीमा दमका बिरामीलाई घरमै पुगेर स्वास्थ्य सामग्री वितरण

Screenshot

गुल्मी, असार २८ गते । पश्चिम गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई घरमै पुगेर औषधी र स्वास्थ्य सामग्री वितरण गरिएको छ।
गुल्मीको विकट मानिने यस वडाले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटबाट स्वास्थ्य उपकरण तथा औषधी खरिदको व्यवस्था मिलाएपछि वडा अध्यक्ष सुशील चन्द स्वास्थ्यकर्मीसहित बिरामीको घरमै पुगेर सामग्री वितरण गर्नुभएको हो। दम तथा श्वासप्रश्वासको समस्या विशेषगरी ज्येष्ठ नागरिकमा बढी देखिने भएकाले उनीहरूलाई लक्षित गरी घरदैलोमै सेवा प्रदान गरिएको उहाँले बताउनुभयो।
वडा कार्यालयले स्वास्थ्यकर्मीको प्राविधिक सिफारिसका आधारमा दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको घरमै पुगेर नेबुलाइजर मेसिन, आस्थालिन, इप्राट्रोपियम तथा नर्मल सलाइनलगायत आवश्यक औषधि वितरण गरेको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो।
उहाँका अनुसार दमका कारण श्वासप्रश्वासमा गम्भीर समस्या झेलिरहेका नागरिकको आवश्यकता सम्बोधन गर्न वडाले बजेटबाटै स्वास्थ्य उपकरण तथा औषधी खरिद गरेको हो।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष चन्दले भन्नुभयो, “गाउँका विभिन्न टोलमा पुग्दा दमका कारण नागरिकले निकै कष्टकर जीवन बिताइरहेको देखेँ। त्यसैले यस वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै यो कार्यक्रम ल्याएका हौँ। नागरिकको जीवन रक्षा र सहजता नै हाम्रो मुख्य प्राथमिकता हो।”
घरमै स्वास्थ्य उपकरण र औषधी पाएपछि स्थानीयवासी खुसी भएका छन्। डाँडाबारीकी थुमादेवी हमालले भन्नुभयो, “हामीजस्ता श्वास फेर्न गाह्रो हुनेहरूका लागि वडाले ठुलो राहत दिएको छ। स्वास्थ्यकर्मीसहित घरमै मेसिन ल्याइदिनु निकै सराहनीय काम हो।”
अर्का ज्येष्ठ नागरिक घनबहादुर चन्दले पनि घरमै नेबुलाइजर मेसिन पाएपछि उपचारमा सहज भएको बताउनुभयो।
वडा कार्यालयका अनुसार स्वास्थ्यकर्मीको प्राविधिक सिफारिसका आधारमा लामो समयदेखि दमको समस्या झेलिरहेका बिरामी पहिचान गरी यो सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको हो। हालसम्म ११ जना ज्येष्ठ नागरिकलाई नेबुलाइजर मेसिन र आवश्यक औषधी वितरण गरिएको तथा आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

LEAVE A REPLY