आधुनिक र पूर्ण सुविधा सम्पन्न सुरुङमार्ग आगामी स्रावणदेखि सञ्चालनमा आउछः ई. अर्जुनजङ्ग थापा

काठमाडौँ, असार २८ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वसचिव ई. अर्जुनजङ्ग थापाले यसमा भू–प्राविधिक जटिलता, आधुनिक भेन्टिलेसन, सिसिटिभी, आपत्कालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग भएको बताउनुभयो । नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ ।
त्यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभरसमेत सुरुवात गरेको छ । यस आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभरसमेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको छ । यो सुरुङमार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी भइरहेको छ । मुलुकको पहिलो अत्याधुनिक र सडक यातायातको पूर्वाधारमा नयाँ अध्याय कोर्ने ऐतिहासिक परियोजनाका रूपमा तयार गरिएको यो सुरुङमार्गको भौतिक निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ ।
सुरुङभित्र सवारी सञ्चालनको परीक्षणसमेत भइसकेको छ । मुख्य सडकको यात्रालाई निकै सहज र छिटो बनाउने उद्देश्यसहित तयार गरिएको यो सुरुङमार्गलाई सतही सडकबाट आधुनिक भू–इन्जिनियरिङ र प्रविधिमा आधारित भूमिगत यातायात पूर्वाधारतर्फको ऐतिहासिक फड्कोसमेत मानिएको छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्ग आयोजनाको सम्पूर्ण भौतिक निर्माण, परीक्षण तथा सञ्चालन गर्ने कम्पनी छनोट सम्पन्न भइसकेको र अब सुरुङमार्ग सञ्चालन हुन मात्र बाँकी रहेको बताउनुभयो । उहाँले साउनभित्रै सुरुङमार्ग सञ्चालन हुने बताउनुभयो । आयोजना सञ्चालन समस्याका रूपमा खडा भएको सुरुङमार्गको पश्चिमी पोर्टल धादिङतर्फ को पहिरो व्यवस्थापनसमेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ सञ्चालनको अन्तिम तयारी पूरा भई तोकिएको सुरक्षा मापदण्ड लागु गरिएका छन् । साइकल, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी र पेट्रोलियम पदार्थ जस्ता प्रज्ज्वलनशील वस्तु बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ ।
उहाँले भन्नुभयो, “सुरुङमार्ग सञ्चालनको जिम्मेवारी पाएका कम्पनीले जनशक्ति परिचालित गरी तिनीहरूलाई तालिम दिइरहेका छन् । तालिम सम्पन्न भइसकेपछि सुरुङमार्ग सञ्चालनमा आउँछ । सुरुङमार्ग सञ्चालनका लागि प्रशासनिक, सुरक्षा र प्राविधिक गरी कुल १५० जना जनशक्ति खट्ने छन् ।
आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग टोल शुल्क सङ्कलन गर्न सुरुङमार्गको काठमाडौँ र धादिङ दुवैतर्फ टोल प्लाजा निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै भन्नुभयो, “अहिले टोल प्लाजाको काम सकिएर त्यहाँ सफ्टवेयर जडान भइरहेको छ । शुल्क सङ्कलन प्रणालीको सम्पूर्ण भौतिक काम सम्पन्न भइसकेको छ । टोल उठाउने सफ्टवेयरसँग जोड्न इन्ट्रिग्रेसनका लागि सडक बोर्ड नेपालसँग अहिले समन्वय भइरहेको छ । त्यसै गरी टोलसँग सम्बन्धित प्रणालीलाई बैङ्कहरूसँग आबद्ध गर्ने कामसमेत भइरहेका छन् । यस आयोजनामा मुलुकमै पहिलो पटक स्वचालित रूपमा शुल्क सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।” काठमाडौँतर्फ तीन वटा र सिस्नेखोला धादिङ तर्फ दुई वटा टोल प्लाजा निर्माण गरिएका छन्
उहाँका अनुसार सुरुङमार्ग सञ्चालनको ठेक्का नेपाली कम्पनी एआरटी र चिनियाँ कम्पनी युसिनले संयुक्त रूपमा पाएका छन् । ती कम्पनीले पाँच वर्षसम्मका लागि ठेक्का पाएका हुन् । ठेक्का पाएका कम्पनीले ठेक्का अवधिसम्म सुरुङमार्ग सञ्चालन क्रममा टोल उठाउने, आपत्कालीन उद्धार, सुरुङको मर्मतसम्भार, ट्राफिक व्यवस्थापनलगायतका साथै पूरै सुरुङको रेखदेखसमेत गर्नुपर्ने आयोजना निर्देशक नेपालले बताउनुभयो । त्यसै गरी सुरुङमार्गका पहुँचमार्गलगायतका अन्य संरचनाको समेत रेखदेख गर्नुपर्ने हुन्छ
आयोजना हस्तान्तरणः
सुरुङमार्ग निर्माण आयोजनाका आयोजना उपनिर्देशक सञ्जय पन्थीले निर्माण ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।
निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको उहाँको भनाइ छ । आयोजनाको काम सम्झौताको भन्दा झन्डै दोब्बर समयमा सम्पन्न भएको छ । सम्झौता अनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ७९ महिनामा आयोजनाको काम सम्पन्न भएको हो ।
२५ अर्ब खर्च ःः
आयोजना उपनिर्देशक पन्थीले सो आयोजना सम्पन्न गर्न कुल करिब २५ अर्ब रुपियाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माणसामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपियाँ खर्च भएको हो । १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको सडक यातायातको इतिहासमा व्यावसायिक प्रयोजनका लागि निर्माण भएको यो नै पहिलो आधुनिक र पूर्ण सुविधासम्पन्न सुरुङमार्ग हो ।

LEAVE A REPLY