दोस्रो राष्ट्रिय मोही दिवस देशव्यापी रूपमा सम्पन्न

काठमाडौं। “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔं अभियानको प्रयास” भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय मोही दिवस २०८२ देशव्यापी रूपमा उत्साहपूर्वक सम्पन्न भएको छ।
नेपाल डेरी एसोसिएसनको नेतृत्वमा आयोजना गरिएको यस दिवसका अवसरमा सातै प्रदेशमा विविध प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। काठमाडौंमा आयोजित पत्राकार सम्मेलन मार्फत सार्वजनिक गरिएको कार्ययोजना अनुसार देशभर मोहीलाई स्वस्थ, स्वदेशी र मौलिक पेय पदार्थका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले व्यापक अभियान चलाइएको आयोजकको भनाई छ ।
मोही दिवसका अवसरमा देशभर निःशुल्क मोही वितरण कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय डेरी उद्योगी र सरोकारवालाहरूको समन्वयमा सर्वसाधारणलाई लक्षित गरी गरिएको वितरण कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको आयोजकले जनाएको छ।
विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित अभियान अन्तर्गत काठमाडौं र ललितपुरका विभिन्न मुख्य चोक, अस्पताल तथा सार्वजनिक स्थलहरूमा गरी एकै दिन ५,००० लिटर मोही निःशुल्क वितरण गरिएको थियो। महानगरीय ट्राफिक कार्यालय, सातदोबाटो लगायतका क्षेत्रमा गरिएको वितरणमा उपभोक्ताहरूको उत्साहजनक उपस्थिति देखिएको थियो, जसले मोहीप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
यस्तै, लुम्बिनी प्रदेशमा दिवसलाई सामाजिक सेवासँग जोड्दै विशेष कार्यक्रम आयोजना गरिएको थियो। नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीसँगको सहकार्यमा बुटवलस्थित ब्लड बैंकमा १५७औँ नियमित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। यसले स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वलाई एकैसाथ अघि बढाउने सन्देश दिएको छ।
कार्यक्रमका क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले मोहीलाई विदेशी तथा कृत्रिम पेय पदार्थको स्वस्थ विकल्पका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। महासचिव हेमचन्द्र खनालले पत्रकार सम्मेलनमार्फत दिवसको उद्देश्य र उपलब्धिबारे जानकारी गराएका थिए।
स्वदेशी उत्पादनको संरक्षण तथा उपभोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकार, सुरक्षा निकाय, सञ्चारकर्मी, उपभोक्ता, किसान तथा सम्पूर्ण डेरी व्यवसायीप्रति एसोसिएसनले आभार व्यक्त गरेको छ।

LEAVE A REPLY