काठमाडौँ, । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले यो सरकारलाई परिणाम मुखि काम गर्नु पर्ने दवाव भएका कारण कानुन निर्माणमा एक मिनेट पनि ढिलो गर्न नहुने बताउनुभएको छ । उहाँले लायन्स क्लब इन्टरनेसनलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ कानुनको निर्माण र संशोधन गर्न एक इन्च पनि सम्झौता नगरिने प्रस्ट पार्नुभयो। “प्रधानमन्त्री सयको स्पिडमा देश विकासमा जुट्नुभएको छ । हालै मात्र सम्पन्न भएको मिनी पार्लियामेन्ट मानिने समितिका सभापतिको चयन भएपछि समितिले पूर्णता पाएर काम सुरुवात गरेको छ । यो स्पिडलाई हेर्दा पनि कार्यपालिका र व्यवस्थापिकाको स्पिड मिल्न लागेको जस्तो महसुस गर्नुभएको छ होला,” उहाँले भन्नुभयो, “देशमा केही गर्नु पर्छ, अब ढिला भइसक्यो, हामीले भाषण गरेर मात्रै हुँदैन, राम्रो काम गर्नुपर्ने दबाब छ ।” प्रधानमन्त्रीसहित मन्त्रीहरू र सम्बन्धित निकायका साथीले खटेर काम गरिरहेको उहाँको भनाई छ ।
सभामुख अर्यालले देशमा बिग्रेको प्रणाली सुधार गर्न दुई वर्ष जति लाग्ने अनुमान गरिएकाले परिणाम आउन समय लाग्ने बताउनुभयो । देशमा प्रणालीको विकास भएमा रोजगारी सिर्जनादेखि लिएर भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यपालिका, व्यवस्थापिकामा सुधार गरेर हजुरबुवाको पालामा हालेको मुद्दा नातिको पालामा फैसला हुने प्रवृत्तिको अन्त्य गर्न खोजिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नु भयो “अब पैसा नभएर मर्नु पर्दैन । पैसा नभएर बालबच्चा पढाउन नपाउने दिनको अन्त्य गर्न खोज्दै छौँ । विवाह गरेको तीन दिनमा श्रीमतीलाई छाडेर विदेश जानुपर्ने दिनको अन्त्य गर्न खोज्दै छौँ । बच्चा जन्मिएको तीन दिनमा विदेश जानुपर्ने दिनको अन्त्य गर्न खोजेका छौँ ।,” “देशमा थिति बसेमा थोरै जनसङ्ख्या भएको देशलाई विकास गर्न समय लाग्दैन ।”
कार्यक्रममा क्लबका डिस्ट्रिक गभर्नर शेरबहादुर भण्डारीले हरेक वर्ष नेतृत्व परिवर्तन गरेर उपलब्धिका बारेमा जानकारी दिने गरिएको बताउनुभयो । आफूहरू देशैभर समाजसेवामा जुट्नुका साथै नेतृत्व विकासमा समेत सहभागी हुने गरेको उहाँले बताउनुभयो ।









