ग्लोरी मिडिया र न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा रैथाने खाना प्रर्वधन कार्यक्रम सम्मपन्न

आरपीगैरे ,

काठमाडौं । नेपालको मौलिक खानाको संरक्षण, प्रवर्द्धन र व्यावसायिकीकरणलाई केन्द्रमा राख्दै ककनीमा “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम” प्रभावशाली रूपमा सम्पन्न भएको छ ।
ग्लोरी मिडिया र न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले रैथाने खानाको महत्वलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उजागर गर्ने सन्देश दिएको छ । कार्यक्रममा पाककला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो ।
त्यसैगरी विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल का अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनालाई जोड दिँदै प्रभावकारी ब्रान्डिङको आवश्यकता औंल्याए । उनले स्थानीय खानालाई विश्व बजारमा चिनाउन सके पर्यटन क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।
विशिष्ट अतिथि गैरआवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले प्राकृतिक र रैथाने खानाको स्वास्थ्यसँगको गहिरो सम्बन्धबारे चर्चा गर्दै यसलाई आधुनिक अस्वस्थ जीवनशैलीको प्रभावकारी विकल्पका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
आयोजक ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई नेपालको पहिचान र संस्कृतिको अभिन्न अंगका रूपमा व्याख्या गर्दै यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता भएको उल्लेख गरे । उनले सञ्चारमाध्यमले यस अभियानलाई अझ व्यापक बनाउने विश्वास व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालको विविध भूगोलअनुसार फरक–फरक रैथाने खानाको विशिष्टता रहेको उल्लेख गर्दै यसको व्यवस्थित प्रवर्द्धन आवश्यक रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाले स्थानीय उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने धारणा राखे ।
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानालाई पर्यटनसँग जोडेर अघि बढाउँदा आन्तरिक तथा बाह्य पर्यटन दुवैमा सकारात्मक प्रभाव पर्ने बताए भने युवा उद्यमी तारालाल धरेलले स्थानीय उत्पादनलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दा नयाँ बजार सिर्जना गर्न सकिने सम्भावना औंल्याए
रैथाने अभियन्ता तिलक ढकालले रैथाने खाना स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक भएको उल्लेख गर्दै यसले समाजलाई स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । न्युजलाईन्स मिडियाकी सरिता ढकालले रैथाने खाना तथा प्राकृतिक भोजनको प्रवर्द्धनका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् ।
न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले विभिन्न रैथाने परिकारहरूको आकर्षक प्रदर्शनी प्रस्तुत गरेका थिए भने सहभागीहरूलाई प्राकृतिक भोजनको स्वाद चखाइएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा संवाद क्लव नेपालका अध्यक्ष तथा खबरब्रेकिंग डटकमका प्रधान सम्पादक राम गैरे लगायत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सञ्चारकर्मीहरूको बाक्लो सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन सविना खतिवडाले गरेकी थिइन् ।
कार्यक्रमले रैथाने खानालाई संस्कृति, स्वास्थ्य र आर्थिक विकाससँग जोड्दै यसको दिगो प्रवर्द्धन अपरिहार्य रहेको सन्देश पुनः स्पष्ट पारेको छ ।

LEAVE A REPLY