काठमाडौँ, नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको बताउनुभयो ।
विभागको अद्यावधिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । नेपालगन्जमा अधिकतम तापक्रम ४०.३ डिग्री मापन भएको छ । हिजो नेपालगन्जमा ३९ डिग्री मापन गरिएको थियो ।
दिपायलमा पनि ४० डिग्री तापक्रम मापन भएको छ । दिपायलमा हिजो ३८.८ डिग्री मापन गरिएको थियो । हिजो धनगढीमा ३८.२ डिग्री तापक्रम रहेकामा आज बढेर ३९.४ डिग्रीमा पुगेको छ । काठमाडौँमा २८.४ बाट बढेर २९ डिग्री मापन गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँहरूमा भने वर्षा पनि भइरहेको छ । केही जिल्लामा भारी वर्षासमेत भएको छ । कास्कीमा ५७.४ र सिन्धुपाल्चोकमा ६८.४ मिलीमिटर वर्षा भएको छ । यस्तै गोरखा, लमजुङ, सोलुखुम्बु खोटाङ, धनकुटा, सङ्खुवासभामा मध्यम वर्षा भएको छ भने अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग लगायत देशको बाँकी हिमाली भूभागका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यता मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।









