त्रिशूली नुवाकोट, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गर्नुभएको छ ।
‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवा प्रति गर्व गर्न लायक काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमाआयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिसँगको छलफलमा मन्त्री डा. तिमिल्सिनाले सेवा प्रवाहमा ढिलाइ, गैह्रजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पार्नुभयो ।
राजनीतिक परिवर्तनको मर्म बुझ्न आग्रह गर्दै उहाँले नयाँ सरकार किन बनेको हो भन्नेबारे सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै सरकारी सेवामा सुधार गरेर जनतालाई सहज रूपमा सुशासन दिन कर्मचारीतन्त्र लाग्नुपर्ने बताउनुभयो ।
“समस्या देखाउन सजिलो हुन्छ । तर, अब हामीले आफैँतिर औँला उठाउनुपर्छ । हामीले काम गर्ने भनेको राजनीतिक लाभका लागि नभई देशको सेवाका लागि हो,” मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो । अहिलेको सरकार पारदर्शिता र जवाफदेहिताको जगमा बनेको उल्लेख गर्दै उहाँले हरेक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो ।
“कसैलाई पनि गैह्रजिम्मेवार हुने छुट छैन । आफूलाई सुम्पिएको काम कि त जिम्मेवार भएर पूरा गर्नुपर्छ, अन्यथा मार्ग प्रशस्त गर्नुपर्छ,” मन्त्री डा.तिमिल्सिनाले भन्नुभयो । जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जवाफदेही बनाइने उहाँले स्पष्ट पार्नुभयो ।
शासन सञ्चालन र सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिँदै मन्त्री डा. तिमिल्सिनाले सरकारी कार्यालयले जनतालाई सेवा दिन बसेको हो भन्ने अनुभूति दिलाउनुपर्ने बताउनुभयो । “जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन, अब सबैले काम गर्नुपर्ने समय आएको छ । विगतको तुलनामा आफूलाई सन्तुष्ट हुने गरेर काम गर्न लाग्नुहोस्,” उहाँले भन्नुभयो ।
सूचनाको मूल्याङ्कन सन्तुलित ढङ्गले गर्नुपर्ने उल्लेख गर्दै मन्त्री डा। तिमिल्सिनाले कुनै पनि सूचना एकाङ्की रूपमा नलिन र भेदभावपूर्ण व्यवहार नगरी खुला रूपमा सेवाग्राहीको काममा खटिन कर्मचारीलाई सुझाव दिनुभयो ।
संसद्को मुख्य काम कानुन निर्माण भएको उल्लेख गर्दै उहाँले दशकौँ पुराना कानुनका कारण सरकारी सेवा प्रवाहमा भइरहेको अवरोधलाई हटाउन आवश्यक कानुन छिट्टै निर्माणको तयारीमा अहिलेको संसद् र सरकार लागिसकेको जानकारी दिनुभयो । नयाँ कानुन बनाउने र पुराना परिमार्जन गर्ने प्रक्रिया अघि बढिरहेको उहाँको भनाइ थियो ।
मन्त्री डा. तिमिल्सिनाले रोकिएका फाइल तत्काल अघि बढाउन निर्देशन दिँदै ‘शून्य फाइल’ अभियान सफल बनाउन मन्त्रालयदेखि प्रदेश र जिल्ला तहमा रहेका कर्मचारी संयन्त्र सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । ‘शून्य फाइल’ अभियानलाई नतिजामुखी बनाउन साप्ताहिक, पाक्षिक र मासिक प्रगति सार्वजनिक गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा नुवाकोट–१ बाट निर्वाचित सांसद डा.अच्युतम लामिछानेले कार्यालय प्रमुख एवं प्रतिनिधिलाई सेवाग्राहीप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन ‘शून्य बेरुजु जिल्ला’ बनाउने लक्ष्य लिन उहाँले सुझाव दिनुभयो । सबै नागरिकलाई समान पहुँच र अवसर सुनिश्चित गर्न तथा राजनीतिक आधारमा कुनै विभेद नराख्न पनि उहाँले सजग गराउनुभयो ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखको उपस्थिति थियो । सो अवसरमा जिल्लाको विकास आयोजनाको अवस्थाको सम्बन्धमा पनि मन्त्री र सांसदले जानकारी लिनुभयो ।









