काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जाने चेतावनी दिएको छ ।
सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै देउवा पक्षको दोस्रो बैठक बसेको हो । यसअघि शनिबार बसेको बैठकले सर्वोच्चको फैसला मान्दै पार्टी एकताका लागि बृहत् परामर्श गर्ने निर्णय गरेको थियो ।
आइतबारको बैठकले भने एकताको सम्पूर्ण जिम्मेवारी सभापति थापाको रहेको निष्कर्ष निकालेको छ । आफूहरुको समेत एकतामा भूमिका हुने भन्दै त्यसका लागि निवर्तमान केन्द्रीय सदस्य, निवर्तमान पदाधिकारी र अन्य समितिमा रहेकाहरूसँग छलफल गर्ने निर्णय भएको नेता मीन विश्वकर्माले बताए ।
एकताका लागि महाधिवेशनको मिति समायोजन हुनैपर्ने अडान इतर पक्षले लिएको छ । ”वैशाख अन्तिममा महाधिवेशन मिति घोषणा भएको थियो । विशेष महाधिवेशनबाट चयन भएको समितिले असोजमा मिति घोषणा गरेको छ । मिति समायोजन नभए दुई महाधिवेशनको जोखिम छ । यसले पार्टीलाई विभाजन गराउँछ,” नेता विश्वकर्माले भने ।
दुई महाधिवेशनको अवस्था आउन नदिन पार्टीमा छलफलको पहल सभापति थापाले लिनुपर्ने उनले बताए । यस्तै, सर्वोच्च अदालतको फैसलाबारे पुनरावलोकनमा जाने पक्षमा आफूहरू रहेको उनले बताए ।








