, काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति अहिले उद्योगीका लागि प्रत्युत्पादक बनेको उद्योगी—व्यवसायीले बताएका छन् ।
उपभोक्तामा विद्युतीय चुल्हो इन्डक्सन प्रयोग गर्ने लहर बढ्नु र आधा तौलका कारण सिलिन्डर बजारमै ‘होल्ड’ हुनुले ग्यास उद्योगको चक्र नै प्रभावित भएको उनीहरूले बताएका हुन्
२८ फागुन २०८२ देखि नेपाल आयल निगमले ७.१ किलोको आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएको थियो । तर, अहिले यही नीतिका कारण उद्योगहरूमा खाली सिलिन्डर अभाव चुलिएको छ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानले ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्दा विश्वव्यापी आपूर्ति शृङ्खलामा असर परेको छ । यसैलाई कारण देखाउँदै निगमले लागु गरेको आधा सिलिन्डर मात्र ग्यास बेच्ने नियम अझै निरन्तरता दिइरहेको छ ।
यद्यपि, नेपाल एलपी ग्यास उद्योग संघले भने यो नियम हटाएर साविक झैं १४.२ किलोकै पूरा सिलिन्डर बिक्री गर्न पाउनुपर्ने माग राखेको छ ।
संघका अनुसार अहिले उद्योगका सबै बुलेट ग्यासले भरिभराउ छन् र बजारमा पूर्ण क्षमताको सिलिन्डर पठाउन कुनै समस्या छैन ।
आधा सिलिन्डर मात्र बेच्न पाइने नियमले गर्दा मौज्दात स्टकमा रहेको ग्याससमेत बिक्री गर्न कठिन भइरहेको उद्योगीको भनाइ छ ।
आधा तौलका धेरै सिलिन्डर उपभोक्ताको घरमा थन्किएपछि भारतबाट आएका ग्यास बुलेट उद्योगमा अनलोड हुन सकेका छैनन् । जसका कारण बुलेटमै ग्यास ‘जाम’ भएर बस्नुपर्ने स्थिति आएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्द सरकारले लागु गरेको आधा सिलिन्डर ग्यास नीतिले उद्योगमा असहज परिस्थिति उत्पन्न गराएको बताउँछन् ।
आपूर्ति सहज हुँदा पनि आयल निगमले पूरा सिलिन्डर बिक्रीमा रोक लगाइराख्दा उद्योगको सञ्चालन खर्च दोब्बर भएको र व्यवस्थापकीय संकट चुलिएको उनको दाबी छ ।
अध्यक्ष चन्दका अनुसार अहिले बजारमा ग्यासको माग घटेको छ भने उद्योगहरूमा मौज्दात थुप्रिएको छ । तर, आधा सिलिन्डर नीतिका कारण खाली सिलिन्डर उद्योगमा नफर्किंदा भारतबाट आएका करिब ३ सयभन्दा बढी ग्यास बुलेट अनलोड हुन नसकी बाटोमै रोकिएको छ ।
चन्दले आधा सिलिन्डर ग्यास भर्दा उद्योगको उत्पादन लागत र ढुवानी खर्च निकै बढेको बताए । ‘एउटा पूरा सिलिन्डर भर्दा लाग्ने समय, जनशक्ति र खर्च आधा सिलिन्डरमा पनि उत्तिकै लाग्छ,’ उनले भने, ‘यसले गर्दा उद्योगको सञ्चालन लागत दोब्बर भएको छ भने उपभोक्ताले पनि ढुवानीमा दोहोरो मार खेप्नुपरेको छ ।’
आपूर्ति सहज छ,त किन रोक्छ निगम ?
अहिले बजारमा ग्यास अभाव नरहेको र आयात समेत नियमित रहेको अवस्थामा निगमले पुरानै व्यवस्था १४.२ किलो कायम गर्न आलटाल गरिरहेकोमा चन्दले आपत्ति जनाए ।
निगमले अन्तर्राष्ट्रिय तनाव इरान—अमेरिका विवाद देखाएर निर्णय गर्न ढिलाइ गरिरहेको उनको आरोप छ
‘हामीले मौखिक र लिखित रूपमा पटक(पटक पूरा सिलिन्डर भर्ने अनुमति दिन आग्रह गरिसकेका छौं,’ अध्यक्ष चन्दले भने, ‘आपूर्ति सहज भइसक्दा पनि निगमले बोर्ड बैठक र मन्त्रालयको बहाना बनाएर उद्योगीलाई सास्ती दिइरहेको छ ।’
पछिल्लो समय ग्यास अभाव हुने डरले धेरै उपभोक्ताले बिजुलीबाट खाना पकाउने इन्डक्सनमा बानी बसालेकाले बजारमा ग्यास खपत समेत घटेको चन्दको विश्लेषण छ । सामान्य अवस्थामा मासिक ४५ हजार टन खपत हुने गरेकोमा अहिले माग निकै न्यून रहेको उनले जानकारी दिए ।
तत्काल निर्णय नभए उद्योगहरूमा खाली सिलिन्डर अभाव अझै बढ्ने र आपूर्ति शृङ्खला नै ठप्प हुन सक्ने उनको चेतावनी छ ।
विक्रेताले पनि आधा सिलिन्डर बिक्री गर्दा आफूहरू चरम आर्थिक मारमा परेको बताएका छन् । उद्योगीले आफ्नो खर्च र मार्जिन पूरै जोडिरहँदा मारमा विक्रेता परेको उनीहरूको दाबी छ ।









