काठमाडौं । पश्चिम एशिया द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिले सर्वसाधारण जनता महँगीको मारमा परेका छन् । पछिल्लो समय विभिन्न संघसंस्थाले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आफ्ना उत्पादन र सेवाको मूल्य बढाउन थालेका छन् । यसरी मूल्य बढ्नु सर्वसाधारणका लागि असैह्य भएको छ ।
अमेरिका तथा इजरायल र इरान द्वन्दका कारण कच्चा पदार्थको अभाव र पिउने पानीको उत्पादनमा लागत बढेको भन्दै नेपाल पानी उद्योग महासंघले पानीको मूल्य बढाउने तयारी गरेको छ । नेपाल जस्तो जलस्रोत सम्पन्न देशमा अब पानीको मूल्य समेत चर्को बन्ने भएको छ । बोटल र जारको पानीको साविक मूल्यमा करिब ४० प्रतिशत मूल्यवृद्धि गराइसकिएको छ । पानी उद्योग महासंघले प्रेस विज्ञप्ती जारी गर्दै उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बोटल, क्याप, ¥यापिङ रोल तथा जारको मूल्य वृद्धि भएको भन्दै नयाँ मूल्य लागु भएको जनाएको छ । उनीहरुले अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चा पदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न हुँदा उद्योग सञ्चालनमा लागत द्वन्दात्मक अवस्था, अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावका कारण नेपालका पानी उद्योग समेत प्रभावित भएको उल्लेख विज्ञप्तीमा गरिएको छ ।
त्यसैगरी अन्य खाद्य पदार्थ तथा आयातित वस्तु र यातायातमा समेत भाडा बढेको छ । पेट्रोल र डिजेलको मूल्य बढेकै कारण त्यसबाट चल्ने सवारी साधनमा समेत भाडा वृद्धि गरिएको छ । न्यूनतम भाडा रु २० बाट २५ पुर्याइएको छ । खाद्य वस्तुदेखि यातायात भाडासम्म भएको मूल्यवृद्धिले विपन्न वर्गलाई ठूलो मार पारेको छ । पहिले महिना धान्ने खर्चले अहिले २ हप्ता पनि धान्न गाह्रो परेको उनीहरु बताउछन् । सरकारले यस्तो अवस्थामा पनि वास्ता नगरे भान्सा चलाउन सकस पर्ने मात्र होइन, जनविश्वास पनि निभाउन गाह्रो पर्ने खतरा महँगीले निम्त्याउँदै छ ।
महँगीले केवल आर्थिक मुद्दामा मात्र होइन, सामाजिक संकटको रुपमा विकसित भएको छ । त्यसलाई तत्काल रोकिएन भने जन आक्रोस बढाउने र समग्र आर्थिक असन्तुलन निम्त्याउने खतरा बढ्दै गएको छ ।
इन्धनमा भएको मूल्य वृद्धिकै कारण चैत्र २७ र वैशाख २ गते भएको मूल्य वृद्धिका आधारमा तत्काल नेपाल सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधि अनुरुप स्वचालित प्रणालीबाट ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन यातायात व्यवसायी महासंघले विज्ञप्ती मार्फत जोडदार माग गरेको छ । महासंघले देशभरी सेवा सञ्चालन गरिरहेका यातायात व्यवसायीलाई सरकारबाट तोकिएको भाडा लिई अस्वस्थ प्रतिस्पर्धा नगर्न अनुरोध समेत गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमबाट पटक पटक हुने मूल्यवृद्धि रोकेर वैकल्पिक व्यवस्था मिलाउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई लिएर खाद्यान्न पसलेहरुले समेत आफुखुशी मूल्यवृद्धि गरेका छन् । दाल, चामल, गेडागुडी लगायतका खाद्य वस्तुको मूल्य वृद्धि भएको छ । पछिल्लो समय चामलमा प्रतिबोरा ५० देखि ७५ रुपैया, दालमा २० देखि ३० रुपैयाँ र गेडागुडीमा १० देखि १५ रुपैयाँ मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले बताएको छ । यस्तै फलफूलमा समेत मूल्य बढेको उपभोक्ताहरु बताउछन् । हरेक उपभोग्य वस्तुमा मूल्य बढेका कारण सामान्य अवस्थामा भन्दा धेरै रकम खर्च गर्नुपरेको उपभोक्ताहरुको गुनासो छ ।
पेट्रोल मूल्य वृद्धिका कारण नेपाल निर्माण उद्योग परिषदले निर्माण उद्योगमा आपदकाल घोषणा गर्न माग राखेको छ । पटक पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेका छन् । यता हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भएकाले तत्काल मूल्य समायोजनको मार्गनिर्देशिका जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरुको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबैको समस्या सम्बोधन गर्नुपर्ने भएको छ ।





