१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि फरक—फरक क्षेत्रका अगुवाहरूलाई बोलाएर उनीहरूको विचार पहिलोपटक सुनेका छन् ।
कोइरालाले कांग्रेसका नेता, परराष्ट्रविद्, राजनीतिक विश्लेषक, कानुन व्यवसायी, पत्रकार, जेनजी युवा लगायतको विचार सुनेका हुन्
देश र पार्टीप्रति फरक(फरक क्षेत्रका व्यक्तिहरूको विचार सुनेका कोइरालाले अन्तिममा आफ्नो विचार छोटो राखेका थिए । बैठकमा सहभागी एक नेताले भने, ‘शेखर डा. साब खासै बोल्नु भएन । अन्तिममा पार्टी एकताका लागि मध्यमार्गीमा बसिरहेको छु भन्नुभयो । दुवै खेमा अतिवादी भए भन्ने उहाँको कुरा थियो ।’
छलफलमा कांग्रेस पछिल्लो समय आफ्ना धारणा राख्ने समेत नसक्ने अवस्थामा रहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए । बीपीको इतिहास जल्दा, नेताहरूको घर जलाउँदा पनि नबोलेको कांग्रेस नयाँ सरकार बनेपछि झनै बोल्न छोडेको विचार आएका सहभागीले जानकारी दिए ।
सहभागी ती नेताले भने, ‘कांग्रेस न राष्ट्रिय न अन्तर्राष्ट्रिय मुद्दामा बोल्न सकेको छ । कांग्रेसलाई बोल्ने बनाउनुपर्छ भन्ने विचार आए ।’
कांग्रेस एकढिक्का रहन सकेन भने आगामी १५—२० वर्ष सत्ताबाट बाहिर रहने विश्लेषण पनि छलफल भएको थियो ।
अहिलेको सरकारको शासन पद्धतिप्रति वक्ताहरूले चिन्ता व्यक्त गरेको सहभागीले जानकारी दिए ।
कांग्रेस बलियो बनाउने विचारमा धारणाहरू र वर्तमाान सरकारका कार्यबारे टिप्पणी भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जानकारी गराए ।
उनले भने, ‘त्यहाँ शेखर र गगनको कुरा थिएन । प्रायः सबैको लाइन एउटै थियो । व्यक्तिको कुरा हैन । अब डेमोक्रेसी र त्यसको भ्यालु प्रिन्सिपलसँग मानिस डराउनने थाले के हुन्छ भन्ने चिन्ता थियो ।
संसदीय दलको नेता चयन गर्न नसकेको प्रति पार्टी सभापति गगन थापाको भूमिकालाई लिएर वक्ताहरूले प्रश्न उठाएका थिए । १५औं महाधिवेशनका लागि भनि क्रियाशील सदस्यता नवीकरण अधिकांश स्थानमा सकिइसकेको र अहिले त्यही विषय किन ल्याउनु परेको भनि प्रश्न नेतृत्वलाई उठाएका थिए ।
‘पहिले भइसकेको नवीकरण किन गर्नुपर्ने भन्नेहरू पनि थिए । अनि भोट नै बढाउन नसक्ने सदस्य राखेर मात्रै के हुन्छ भन्ने पनि थिए,’ बैठकमा सहभागीले भने ।
अदालतको आदेशपछि कांग्रेसको कानुनी विवाद सकिए पनि राजनीतिक विवाद कायम रहेको वक्ताहरूले बताएका थिए ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा डा. दिनेश भट्टराई, मधुरमण आचार्य, पुरञ्जन आचार्य, डा.उद्धव प्याकुरेल, पुरुषोत्तम दाहाल, किशोर नेपाल, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, बिष्णु बुढाथोकी सहभागी थिए । छलफलमा दुई जेनजीहरू अभिजित अधिकारी र करिना पुरी पनि सहभागी थिए ।
कांग्रेस नेताहरू डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा.गोविन्दराज पोखरेल पनि छलफलमा सहभागी थिए ।









