काठमाडौं । सरकारले खटाएका पालिकामा नजाने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको छ । सरकारले स्थानीय तहमा खटाएका केही कर्मचारी महिनौ बित्दा पनि गएका छैनन् । कतिपय कर्मचारी आठ महिना बितिसक्दा समेत पालिकामा हाजिर भएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्ता कर्मचारीलाई तीन दिनभित्र सम्बन्धित पालिकामा उपस्थित नभए कारवाही गर्ने तयारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको अवस्थामा कामकाज प्रभावित भएपछि मन्त्रालयले गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको थियो । गत भाद्रदेखि माघ महिनासम्ममा नौ वटा गाउँपालिका र सात वटा नगरपालिकासहित १६ पालिकामा खटाएका कर्मचारी अहिलेसम्म हाजि भएका छैनन् ।
गत भाद्रदेखि माघसम्म सरुवा गरिएका तर हालसम्म पनि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएका स्थानीय तहहरुमा जयपृथ्वी नगरपालिका–बझाङ, अमरगढी नगरपालिका–डडेलधरा, पुर्चौडी नगरपालिका–बैतडी, साँफेवगर नगरपालिका–अछाम, ठाकुरबाबा नगरपालिका–बर्दिया, गढीमाई नगरपालिका–रौतहट र महागढीमाई नगरपालिका–बारा छन् ।
यसैगरी कर्मचारी नजानेमा लिखु तामाकोशी गाउँपालिका रामेछाप, सुर्नया गाउँपालिका बैतडी, मष्टा गाउँपालिका बझाङ, जुनीचाढे गाउँपालिका जाजरकोट, सिटुकुमाख गाउँपालिका सल्यान, यशोधरा गाउँपालिका कपिलवस्तु, कोशी गाउँपालिका सुनसरी, आमचोक गाउँपालिका भोजपुर र शिवनाथ गाउँपालिका बैतडी रहेका छन् ।
यसरी सरकारले सम्बन्धित ठाउँमा खटाइएका कर्मचारीहरु त्यहाँ हाँजिर नहुँदा दैनिक काम कारवाहीमा गाह्रो परिरहेको अवस्थामा अब ती अटेर कर्मचारीहरुलाई सरकारले कस्ता कारवाही गर्नेछ त्यो भने समयले नै बताउने छ र कारवाही गर्नु अति आवश्यक पनि छ ।







