काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले संवैधानिक सर्वोच्चता ,स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता ,नागरिक हक अधिकारको संरक्षणमा विचलित नहुन अपिल गरेकी छिन्
शनिबार ७४ औँ कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य विधिको शासनमा विश्वास गर्नका लागि सैह्य नहुने बताइन् । नेपाल प्रधान न्यायालय ऐन, २००८ विसं २००९ साल वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसको रूपमा मनाइँदै आएको छ उनले भनिन् “वर्तमान परिस्थितिमा अलिकति पनि विचलित नभई नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न कानुन दिवसले सबैमा सकारात्मक सोच र भावना प्रदान गर्न सकोस् ”
संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुरूप न्यायपालिकाले न्याय सम्पादन गर्दै आइरहेको भन्दै उनले न्यायपालिकाले न्यायिक सुधारलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले विसं २०६१ सालदेखि रणनीतिक योजना तर्जुमा गरी क्रमिक रूपमा कार्यान्वयन गर्दै आएको बताइन् ।न्यायपालिकामा गरिने सुधारको विषय न्यायपालिकाकोएकांकी नभई न्यायपालिकाको स्वतन्त्रता एवं सुदृढीकरण राज्यका समस्त अंगहरूको साझा दायित्व भएको उनको भनाइ छ । “न्यायपालिकाले रणनीतिक योजनामार्फत चालेका सुधारका कार्यमा न्यायाधीश, सरकारी वकिल तथा कानुन व्यवसायी, न्यायपालिकामा कार्यरत कर्मचारीहरू लगायत सरोकारवाला निकाय एवम् संस्थाहरूको सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ,” शुभकामनामा उल्लेख छ ।








